Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

कानून कार्यान्वयन जोड दिन सरोकारवालाको भनाइ


कमल शर्मा
दैलेख :  बालविवाह सम्बन्धी भएका कानुन कडाइका साथ कार्यान्वयन गर्नु पर्नेमा सरोकारवाला निकायले जोड दिएका छन् । शुक्रवार महिला कानुन र विकास मञ्चले आयोजना गरेको बालविवाह यौन दुब्र्यबहार सम्बन्धी सरोकारवाला निकाय सँग छलफल कार्यक्रममा बोल्ने अधिकांश सहभागीले कानुनलाई कडाइका साथ कार्यान्वयन गर्न सुझाव दिएका हुन । सहभागीहरूले कानुन सबैका लागी बराबर भए पनि धनी बर्ग लाई नलाग्ने र आर्थिक अवस्था कमजोर भएका मान्छेलाई मात्र कानुनी सजाय भोग्नु पर्ने अवस्थाको अन्त्य गरिनु पर्ने बताएका छन ।
नेपाल प्रेस युनियनका सभापति अभिषेक अनुरागले समाजमा बालविवाह र यौन दुब्र्यबहार सम्बन्धी कुरामा समाजमा वर्गीय विभेद रहेको बताए । उनले धनीका छोरा छोरीले बालविवाह गर्दा कानुन नलाग्ने र गरिवका छोरा छोरी बालविवाह गर्दा कानुन लाग्ने गरेको आरोप लगाए । उनले भने राज्यले नै १६ वर्षको उमेरमा नागरिकता दिने,१८ वर्ष पुग्दा भोटिङ गर्ने पाइने र विवाह गर्दा २० वर्ष पुग्नु पर्ने कानुनलाई समेत संशोधन गर्नु पर्छ ।
नेपाल पत्रकार महासङ्घ दैलेख अध्यक्ष यज्ञराज थापाले बालविवाह र यौन दुब्र्यबहार रोकथामका लागी स्थानीय सरकार जिम्मेवार बन्नु पर्ने बताए । उनले स्थानीय सरकारको सामाजिक विकास भन्दा पूर्वाधार विकासमा जोड दिएका कारण स्थानीय तहमा यस्ता खालका समस्या समाधान नहुने बताए । उनले भने आफ्नो पालिकाका नागरिकलाई जिम्मेवार बनाउने,विभिन्न विषयमा प्रशिक्षण गर्ने,कानुनी कुराहरू नागरिकलाई सिकाएर सभ्य समाज निर्माणमा स्थानीय सरकार चुकेका छन् ।

जिल्ला प्रहरी कार्यालय हवल्दार देवेन्द्र पोखरेलले बालविवाह न्यूनीकरणका लागी अभिभावक जिम्मेवार बन्नु पर्ने बताए । उनले अभिभावकै मिलेमतोमा बालविवाह गर्ने र पछि बुहबिवाह गरेपछि मुद्दा दिन आउने गरेको बताए । उनले बालविवाहको उजुरी दर्ता गरेको खण्डमा जिल्ला अदालतले समेत अभिभावकको जिम्मेवारीमा बुझाउने गरेको भए पनि पछि अभिभावकले बुझेकै भोली पल्ट पुन विवाह गर्ने समस्या रहेको बताए । । उनले भने अघिल्लो आर्थिक वर्षमा एउटा पनि बालविवाह विरुद्ध उजुरी परेको छैन । बालबालिकाले पछिल्लो समय सामाजिक संजाल माध्ययममा जोडिने र त्यही बाट भाग्ने गरेको पोखरेलको भनाइछ ।

नारायण नगरपालिकाका उप प्रमुख तप्ता कुमारी थापाले बाल विवाह र यौन दुब्र्यबहारको अन्त्यका लागी नगरपालिका बाट विभिन्न कार्यक्रम सञ्चालन गरेको बताइन । उनले नगरपालिका भित्र अहिले पनि लुकेर बालविवाह गर्ने समस्या देखिएको भन्दै वडाका सबै जनप्रतिनिधिलाई बालविवाह न्यूनीकरणका लागी सचेतिकरण समेत गरिएको बताइन । उनले भनिन नगरपालिकामा रहेको महिला विकास शाखा मार्फत बालक्लव र युवा क्लब गठन गरिएको र त्यस बाहेक विद्यालयमा बालविवाह र यौन दुब्र्यबहारका विषयमा प्रशिक्षण दिने गरिएको छ । बालविवाह न्यूनीकरण र यौन दुब्र्यबहार रोक्न आम नागरिकले खबरदारी गर्ने र त्यस्ता गलत क्रियाकलाप गर्नेलाई कानुनी कठघरामा उभ्याउनका लागी पहल गर्नु पर्ने थापाको भनाइछ ।

बालविवाह यौन दुब्र्यबहार सम्बन्धी सरोकारवाला निकाय सँगको छलफल कार्यक्रमको सहजीकरण गर्दै अधिबत्ता गीता कोइरालाले बालविवाह न्यूनीकरण सम्बन्धी गरिएका प्रयासलाई निरन्तरता दिन आवश्यक रहेको बताइन । उनले कानुन कार्यान्वयन गर्ने कुरामा राजनीतिक पार्टीले विशेष ध्यान दिनुपर्ने बताइन । उनले बालविवाह सम्बन्धीका घटना आएको खण्डमा त्यसलाई राजनीतिक रूपमा परिभाषित गर्ने र मिलाउने समस्याले गर्दा पनि बालविवाहमा कमी नआएको हुनसक्छ ।–