सत्ता समीकरण २०८४ को चुनावसम्म कायम रहन्छ : प्रधानमन्त्री ओली
काठमाण्डौँ : प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता समीकरण २०८४ चुनावसम्म कायम रहने बताएका छन । एमालेको काठमाडौं, ललितपुर, भक्तपुर उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय र जनसङ्गठनहरुद्वारा शुक्रबार ‘अराजकता, सामाजिक विद्वेष र विकृतिका विरुद्ध लोकतन्त्र, सामाजिक सद्भाव र राष्ट्रिय एकता’ को नारासहित संयुक्तरुपमा आयोजना गरिएको जागरण सभालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन । प्रधानमन्त्री ओलीले आफू आगामी २०८३ साल असारसम्म प्रधानमन्त्री पदको जिम्मेवारीमा रहने पनि उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले भने २०८४ साल मङ्सिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ । सबैले बुझे हुन्छ । कान खोलेर सुने हुन्छ । मेरो अवधि, म अब २०८३ साल असारसम्म प्रधानमन्त्री रहन्छु । त्यसपछि म प्रधानमन्त्री छोडेर शेरबहादुरजीलाई जिम्मा लाउँछु । प्रधानमन्त्री ओलीले त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको जिम्मेवारीमा रहने बताए ।
प्रधानमन्त्री ओलीले भने प्रधानमन्त्रित्व १८ महिना र मैले अहिले १८ महिना चलाउँछु । यसमा कुनै भ्रम नराखे हुन्छ । त्यसकारण म साथीहरुलाई भन्न चाहन्छु, त्यस्ता भ्रममा नपर्नुस् । यस्ता भ्रममा आमजनतालाई पर्न नदिनुस् । यस्ता भ्रमहरुको खण्डन गर्नुस् । ढुक्कले अगाडि बढ्नुस् ।
सरकार निर्माणका बेलादेखि विभिन्न भ्रमहरु छरिएको भन्दै भने सरकार बन्दै, बन्दैन त्यो पनि बन्यो । विश्वासको मत पाउँदै, पाउँदैन त्यो पनि पायो । दसैँ देख्दैन, देख्ने मात्र होइन, दसैँ मनायो । तिहार देख्दैन, त्यो पनि देख्यो । कात्तिक कट्दैन, त्यो पनि कट्यो । मङ्सिर देख्दैन, त्यो पनि कट्यो । अब भाका राख्दैछन्, फेब्रुअरीको । फेब्रुअरी भनेको माघ, फागुनको कुरा म भन्न चाहन्छु ८४ साल मङ्सिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ ।”