Loading... आजः आइतवार, चैत्र ९, २०८१
Trending

दिवा खाजामा समेत अनियमितता


दैलेख  :   सरकारले बालविकास देखी कक्षा ६ सम्मका विद्यार्थीहरुका लागी प्रदान गर्ने दिवा खाजाको रुपियाँमा समेत स्थानीय सरकारले अनियमित गरेको पाइएको छ । विद्यार्थीको दैनिक हाजीरी पुस्तीकाको प्रतिलिपिलाई विद्यालयका प्रधानाध्यापक र विद्यालय ब्यबस्थापन समितिले प्रमाणित गरी संख्या यकिन गरेपश्चात मात्र दिवा खाजा वापतको रकम भुक्तानी गर्नु पर्ने प्रावधान भएपनि जिल्लाका स्थानीय तहले (आइइएमआइएस) विवरणकै आधारमा विद्यालयलाई भुक्तानी दिएर अनियमित गरेको पाइएको छ ।
जिल्लाको आठबिस नगरपालिकाले दिवा खाजा वापत २७ वटा विद्यालयलाइ दिवा खाजा वापत एक करोड ७३ लाख ४९ हजार निकासा गरेकोमा १३ लाख २९ हजार ७५० रुपियाँ बढि निकासा दिएर अनियमित गरेको भन्दै महालेखाले असुल गर्ने उल्लेख गरेको छ । महालेखाको आर्थिक वर्ष २०७९÷२०८० को प्रतिबेदनमा उल्लेख गरे अनुसार २७ विद्यालयमा (आइइएमआइएस) उल्लेख गरिएको विद्यार्थी संख्या दुई हजार ४८६ जना र निकासा भएको संख्या तीन हजार ७७ जना र बढि निकासा भएको संख्या पाँच सय ९१ जना रहेको हुँदा बढि निकासा भएको रकम असुल गर्नु पर्ने उल्लेख गरेको छ ।
त्यस्तै चामुण्डाबिन्द्रासैनी नगरपालिकामा रहेका विद्यालयहरु मध्ये बिन्द्रासैनी माध्यामिक विद्यालय,जयसेवा आधारभुत विद्यालय ,सरस्वती आधारभुत विद्यालयमा समेत दिवा खाजा बापत गएको भुक्तानी असुल गर्नु पर्ने उल्लेख गरेको छ । महालेखाको प्रतिबेदन अनुसार बिन्द्रासैनी माध्यामिक विद्यालयमा (आइइएमआइएस)मा विद्यार्थी संख्या दुई सय ८३,दिवाखाजा निकासा भएको विद्यार्थी संख्या तीन सय दश र बढि निकासा भएको २७ जना जयसेवा आधारभुत विद्यालयमा (आइइएमआइएस)मा विद्यार्थी संख्या एक सय ४७ दिवाखाजा निकासा भएको विद्यार्थी संख्या १४९ जना बढि निकासा भएको २ जना, सरस्वती आधारभुत विद्यालयमा (आइइएमआइएस)मा विद्यार्थी संख्या एक सय ७० दिवाखाजा निकासा भएको विद्यार्थी संख्या एक सय ७७ र बढि निकासा भएको विद्यँर्थी संख्या सात संख्या गरी ३६ जना विद्यार्थी वापत दिवा खाजाको रकम निकासा भएको ८३ हजार एक सय ६० अनियमितता भएको भन्दै असुल गर्ने पर्ने उल्लेख गरेको छ ।

भगवतीमाई गाउँपालिकाले दिवा खाजा ब्यबस्थापन वापत ८३ लाख १३ हजार निकासा गरेकोमा बढि विद्यार्थी संख्या देखाएर २६ हजार ३८५ रुपियाँ रकम अनियमितता गरेको छ । भगवतीमाई गाउँपालिकाको लक्ष्मी आधारभुत विद्यालय,जनता माध्यामिक विद्यालय,महादेव माध्यामिक विद्यालयर भगवती माध्यामिक विद्यालयले (आइइएमआइएस) भर्ना भएको विद्यार्थी संख्या बन्दा बढि विद्यार्थी संख्या देखाएर रकम निकासा लिएको पाइएको छ ।
त्यस्तै जिल्लाको नौमुले गाउँपालिकाले समेत प्रमाणित हाजीरी पुस्तीका भन्दा बढि रकम दिवा खाजा वापत भुक्तानी गरेको पाइएको छ । गाउँपालिकाले विद्यार्थीको दैनिक हाजीरी पुस्तीकाको प्रतिलिपिलाई विद्यालयका प्रधानाध्यापक र विद्यालय ब्यबस्थापन समितिले प्रमाणित गरी संख्या यकिन गरेपश्चात मात्र दिवा खाजा वापतको रकम भुक्तानी गर्नु पर्ने प्रावधानलाई लत्याएर हचुवाको भरमा दिवाखाजाको रकम भुक्तानी दिएको भन्दै महालेखाले विद्यालय बाट उक्त रकम असुल गर्नु पर्ने उल्लेख गरेको छ ।
नौमुले गाउँपालिकाले गाउँपालिकाका विभिन्न विद्यालयहरुमा दिवा खाजा वापत रकम निकासा गरेपनि महावै आधारभुत विद्यालय,जनता भगवती आधारभुत विद्यालय,नेरा माध्यामिक विद्यालयलाइ ७६ हजार ५४० रुपियाँ निकास दिएको भन्दै उक्त रकम विद्यालय बाट असुल गर्नु पर्ने उल्लेख गरेको छ ।
जिल्ला शिक्षा विकास तथा समन्वय एकाई दैलेखका प्रमुख रतन बिष्टले संघिय सरकारले दिवा खाजा वापतको रकम सम्बन्धित गाउँपालिकामै पठाउने र त्यसको अनुगमन गर्ने अधिकार समेत स्थानीय तहलाई दिएको बताए । उनले गाउँपालिका तथा नगरपालिकामा रहेका शिक्षा शाखाले नै त्यसका लागी आवश्यक अनुगमन गर्ने र दिवा खाजा गुणस्तर भए नभएको,विद्यार्थी संख्या भए नभएको लगायतको अनुगमन गर्न ब्यबस्था समेत गरिएको बताए ।