Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

बैठक र भ्रमण भत्तामै साढे दुई करोड खर्च

..

कमल शर्मा
दैलेख  :   दैलेखका स्थानीय तहहरुले बैठक भत्ता र अनुगमन तथा भ्रमण भत्तामा साढे दुई करोड भन्दा बढि खर्च गरेका छन । महालेखाले सार्वजनिक गरेको प्रतिबेदन अनुसार दैलेखका ११ स्थानीयले आर्थिक वर्ष २०७९÷८० मा बैठक भत्ता,अनुगमन र भ्रमण शिर्षकमा दुई करोड ७३ लाख आठ हजार रुपियाँ खर्च गरेका छन । कर्णाली प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधा सम्बन्धि ऐन २०७७ को दफा १२ अनुसार अनुसुचि २ को दृस्टब्य बमोजिम सरकारी कामकाजका लागी जिल्ला बाहिर भ्रमण गरेको अबस्थामा मात्र अनुसुचि बमोजिम दैनिक भ्रमण भत्ता उपलब्ध गराउने ब्यबस्था गरेको छ ।

आयोजना तथा योजनाहरुको अनुगमन गर्दा जनप्रतिनिधि र कर्मचारीले अनुगमन भत्ता पाउने कुनै कानुन तथा कार्यविधि नभएको भएपनि स्थानीयतहका जनप्रतिनिधिले सरकारी कामकाजका लागी जिल्लाभित्र भ्रमण गरेको अबस्थामा समेत दैनिक भ्रमणभत्ता भनि भुक्त्तानी गरेका छन । साथै भ्रण खर्च नियमावली २०६४ अनुसार भ्रमण÷अनुगमन प्रतिबेदन पेश गरेर मात्र भ्रमण अनुगमन भत्ता भुक्तानी दिनु पर्ने ब्यबस्था भएको पनि स्थानीय तहले भ्रमण तथा अनुगमनको उपलब्धीको मुल्याङकन नगरी करोड रुपियाँ खर्च गरेका हुन ।

जिल्लाको नारायण नगरपालिकाले भ्रमण खर्च बाफत २६ लाख ७२ हजार रुपियाँ अनुगमन तथा भ्रमण शिर्षकमा खर्च गरेको छ । पालिकाले अनुगमन तथा भ्रमणको उपलब्धीको मुल्याङकन नगरी उक्त रकम खर्च गरेको छ । त्यस्तै जिल्लाको दुल्लु नगरपालिकाले ३० लाख ७४ हजार,चामुण्डाबिन्द्रासैनी नगरपालिकाले १५ लाख चार हजार,आठबिस नगरपालिकाले २४ लाख ९९ हजार,ठाटिकाँध गाउँपालिकाले २७ लाख ९४ हजार,भैरवी गाउँपालिकाले दश लाख नौ हजार रुपियाँ खर्च गरेका छन ।

महावु गाउँपालिकाले २५ लाख ९८ हजार,नौमुले गाउँपालिकाले ३९ लाख ४७ हजार,भगवतीमाई गाउँपालिकाले पाँच लाख २६ हजार,डुगेश्वर गाउँपालिकाले १४ लाख १२ हजार गुराँस गाउँपालिकाले छ लाख ४९ हजार अनुगमन तथा भ्रमणमा एक करोड ७९ लाख सात ८२ हजार रुपियाँ खर्च गरेको महालेखाको प्रतिबेदनमा उल्लेख छ ।

त्यस्तै स्थानीय तहहरुले कार्य संचालन निर्देशीका तर्जुमा नगरी बैठक भत्ता वापत लाखौ रकम खर्च गर्ने गरेका छन । जिल्लाका नारायण नगरपालिकाले बैठक भत्ता वापत १२ लाख ८० हजार,दुल्लु नगरपालीकाले १६ लाख ७० हजार,चामुण्डाबिन्द्रासैनी नगरपालिकाले ६ लाख ७५ हजार ७५ ,आठविस नगरपालिकाले विभिन्न समितिको बैठकमा दुई लाख दुई हजार पाँच रुपियाँ खर्च गरेको छ ।

साथै महालेखाले अर्थमन्त्रालय बजेट तथा तथा कार्यक्रम महाशाखाको कार्य संचालन निर्देशिकाले कर्मचारी र पदाधिकारी बस्ने बैठकको प्रदान नगर्ने उल्लेख गरेको भन्दै बैठक भत्ता खुवाएको भन्दै उक्त रकम असुलउपर गर्ने प्रतिबेदनमा उल्लेख गरेको छ । त्यस्तै ठाटिकाँध गाउँपालिकाले १७ लाख ९ हजार,भैरवी गाउँपालिकाले १७ लाख छ हजार,नौमुले गाउँपालिको विबिध खर्चमा ४३ लाख ९१ हजार ,महावु गाउँपालिकाले विबिध खर्च शिर्षकमा ११ लाख ३१ हजार ३८५,भगवतीमाई गाउँपालिकाले २२ लाख १८ हजार डुगेश्वर गाउँपालिकाले १२ लाख ८० हजार र गुराँस गाउँपालिकाले चार लाख ९७ हजार रुपियाँ खर्च गरेको छ ।

स्थानीय तहका जनप्रतिनिधिले ऐन नियम र कार्यविधिलार्ई लत्याउँदै आफुखसी भ्रमण आदेश स्वीकृत गराउने र भ्रमणभत्ता खाने गरेका छन । गाउँपालिका तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई थर्काउने र भ्रमण आदेश स्वीकृति गराई भुक्तानी लिने गरेका छन ।