Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

निर्माणाधीन कामहरू समयमै सम्पन्न गर्न मन्त्री भण्डारीको निर्देशन


सुर्खेत  :   कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले मन्त्रालय मातहतमा रहेका निर्माणाधीन संरचनाको समयमै काम सम्पन्न गर्न निर्देशन दिएका छन्। निर्माण व्यवसायीसँग बुधबार मन्त्रालयमा भएको छलफलमा मन्त्री भण्डारीले निर्धारित समयमा काम सम्पन्न गर्न निर्देशन दिएका हुन्। यसका लागि अबका दिनमा कुनैपनि बाहना बनाउन नमिल्ने बताए।

अहिले मन्त्रालय अन्तर्गत विभिन्न जिल्लाका १४ वटा योजना सञ्चालनमा छन्। तीमध्ये पाँच वटा योजनाको म्याद सकिएका छन्। उनीहरूका लागि मन्त्रालयले अन्तिम पटक म्याद थप गर्न समन्वय गरिदिने तर त्यसभित्र काम सम्पन्न गरिनुपर्ने निर्देशन गरिएको छ। निर्माण व्यवसायीहरु प्रदेश भित्रको मात्र होइन अन्तर्राष्ट्रियस्तरमै प्रतिस्पर्धी हुनेगरी काम गर्न सुझाव दिए। त्यसका लागि निर्माण कम्पनीहरु बलियो तरिकाले कार्यसम्पादन गर्नुपर्ने बताए।

मन्त्री भण्डारीले सरकारका तर्फबाट हुने कुनैपनि काममा ढिलाई हुन नदिने प्रतिवद्दता जनाए। तर, निर्माण व्यवसायीले आफ्नो कारणले ढिला हुँदा सरकारलाई दोष दिन नहुने बताए। निर्माण व्यवसायी महासंघ कर्णाली प्रदेशका महासचिव मानव वमले विकास निर्माणका कार्यमा निर्माण व्यवसायीको योगदान भरपूर रहेको बताए। उनले समयमा काम सम्पन्न नहुनुका कारणहरू कार्यालयको कमजोरी हुनुपनि बताए। उनले केही पक्ष भने निर्माण व्यवसायीको पनि कमजोरी रहेको बताए।

राज्यका निकाय जस्तै निर्माण व्यवसायीलाई पनि त्यस अनुरूपको व्यवहार गरिनुपर्ने भन्दै विभिन्न तालिम लिने व्यवस्था गर्न सुझाव राखे। आईई÷ईआईए लगायतका कारणले भएका ढिलाईले निर्माण कार्यमा प्रभाव परेको दृष्टान्त राखे। कन्स्ट्रक्सन म्यानेजमेन्ट टीम बनाउन उनले सुझाव दिए। गौरा श्याम सुन्दर जेभीले प्रदेश अस्पतालको काम गरिरहेको छ। यस अवधिमा करिव ५० प्रतिशत काम सम्पन्न भएको कम्पनीका आधिकारिक प्रतिनिधिले जानकारी गराए। उनका अनुसार लक्ष्य अनुसारको समयमै काम समापन हुने अपेक्षा गरे। सम्झौता अनुसार आगामी २०८२ मंसिर २९ गतेभित्र काम सम्पन्न गर्नुपर्ने छ।

दैलेख अस्पताल निर्माणको जिम्मा पाएको स्टार कन्स्ट्रक्सनले समयमा काम गर्न नसकिएको जनाएको छ। कोभिड र निर्माणाधीन क्षेत्रमा रुख कटान गर्नुपर्ने कारणले समयमा काम हुन ढिलाई भएको सञ्चालक तारा शाहीले जानकारी दिइन्। कार्यालयले समयमा भुक्तानी नदिदा समस्या भएको उनले बताइन्। चालू आर्थिक वर्षभित्र काम सम्पन्न गर्ने सञ्चालक शाहीले मन्त्री समक्ष प्रतिवद्धता जनाइन्।

सल्यान अस्पतालको भवन निर्माणको जिम्मा लिएको आरोव्य सुवेदी जेभिका अनुसार ६५ प्रतिशत काम सकिएको छ। भुक्तानी समयमा नपाएको कारण ढिलाई भएको कम्पनीका प्रतिनिधि जितेन्द्र महतोले बताए। यदि समयमा भुक्तानी पाए ३–४ महिनामै बाँकी काम सम्पन्न गर्ने प्रतिवद्धता जनाए। रुकुम प्रदेश अस्पतालको काम अबको ४–५ महिनामा सम्पन्न गरिने कम्पनीका प्रतिनिधिले बताए। कम्पनीले गत असार मसान्तमा कार्य सम्पन्न गर्नुपर्ने थियो। उनले पानीको अभावका कारण समयमा काम गर्न ढिलाई भएको बताए।