Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

विद्युत लाइनमा पर्ने रुख काट्न स्वीकृति

सुर्खेत :  कोहलपुर–सुर्खेत १३२ केभिए विद्युत् प्रसारण लाइन अन्तर्गत पर्ने रुख कटानको स्वीकृति दिइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उक्त क्षेत्रमा पर्ने छ हजारभन्दा बढी रुख कटानको स्वीकृति दिएको हो ।

 

यसअघि नै राष्ट्रिय निकुञ्जमा पर्ने छ हजार आठ सय रुखमा छपान गरिएको थियो । बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने रुख विद्युत् विस्तार क्षेत्रमा पर्ने भएकाले कटान गर्न लागिएको हो । साउन १६ गते विभागले रुख कटानको अनुमतिपत्र दिएको आयोजना प्रमुख रवि चौधरीले बताए । अहिले रुख कटान आदेशको पत्र बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा पेस गरिएको छ । अब निकुञ्जले रुख कटानको अनुमति दिएपछि मात्र कटान सुरु हुने छ । यो अनुमतिसँगै विद्युत् विस्तारको काम प्रभावकारी रूपमा अघि बढ्ने छ ।

बाँके राष्ट्रिय निकुञ्जमा दुई हजार ९९१ र बर्दिया राष्ट्रिय निकुञ्जमा तीन हजार ३२० रुख कटानका लागि विभागले स्वीकृति दिएको हो । २०७९ असार १५ गते बसेको मन्त्रीपरिषद्को बैठकको निर्णयले राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने रुख कटान आदेश दिएको थियो । सोही आदेश अनुरूप रुखमा छपान गरी कटानको प्रक्रिया अघि बढाइएको छ । रुखमा चिनो लगाएको करिब दुई महिनापछि आयोजनाले रुख कटानका लागि स्वीकृति पाएको हो । अहिले दुई वटा राष्ट्रिय निकुञ्जमा रुख कटान अनुमतिको फाइल पेस गरिएको आयोजनाले जनाएको छ ।