Loading... आजः शुक्रबार, कार्तिक ९, २०८१
Trending

कडा चट्टानले ड्रिलिङमा कठिनाइ


कमल शर्मा
दैलेख :  जमिनमुनि कडा चट्टान लागेपछि दैलेखको भैरवी गाउँपालिका –१ जलजलेमा पेट्रोलियम पदार्थको अन्बेणका लागी गरिएको ड्रिलिङ कार्यमा कठिनाइ भएको छ । जमिन मुनी कडा चट्टान लागेको र ड्रिलिङका लागी ल्याइएका ड्रिलिङका बिटहरु भाँचिन थालेपछि ड्रिलिङ कार्यमा कठिनाइ भएको परियोजनाले जानकारी दिएको छ ।

खानी तथा भू–गर्भ विभाग पेट्रोलियम अन्वेषण परियोजनाका सिनिएर डिभिजनल जीओलोजिष्ट सुरेश श्रेष्ठले ड्रिलिङ गर्ने बिटहरू कडा चट्टानका कारण भाँचिन थालेपछि ड्रिलिङको काममा कठिनाइ आएको जानकारी दिए । उनले शनिवार सम्म एक हजार १४७ मिटर गहिरो ड्रिलिङ गरिएको बताए । उनले भने जति गहिरो ड्रिलिङ गरिन्छ त्यति कडा चट्टान लागेको कारण ड्रिलिङका बिटहरू भाँचिने समस्याले ड्रिलिङ कार्यमा कठिनाइ भएको छ ।

ड्रिलिङ मेसिनका बिटहरू भाँचिएपछि दुई देखी काम गर्न समस्या भएको उनको भनाइछ । पेट्रोलियम पद्धार्थको अन्वेषणका लागी पहिलो चरणमा ल्याइएका ड्रिलिङ मेसिनका बिटहरू भाँचिएपछि अन्य बिटहरू चाइना बाट मगाइएको र चाइना बाट रसुवा नाका सम्म उक्त सामाग्री आइपुगेको उहाँले जानकारी दिए । चार महिना देखी छ महिनामा ड्रिलिङ कार्य सम्पन्न गर्ने लक्ष्य लिएको भए पनि हाल सम्म ड्रिलिङ कार्यले सोचे जति गति लिन नसकेको बताइएको छ ।

ड्रिलिङका लागि दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको छ। हाल चिनियाँ र नेपाली गरी ६० जनाको समूहले ड्रिलिङको काम गरिरहेको छ । चिनियाँ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सुरु भएको हो। दैलेखको शिरस्थान नाभिस्थान पादुका स्थानमा तीन वर्षभित्र पेट्रोलियम पदार्थको अनुसन्धान सक्ने गरी चिनियाँ सरकारसँग सन् २०१९, फेब्रुअरी २८ मा सम्झौता भएको थियो । सम्झौताअनुसार काम हुन नसकेपछि पुनः समयावधि थपिएको थियो ।

सुरुआतमा तीन वर्षभित्र तीन चरणमा काम सक्ने गरी सम्झौता भएको भए पनि कोरोना महामारीका कारण सम्झौता अनुसार काम हुन सकेन। पहिलो चरणमा चिनियाँ प्राविधिकहरूले दैलेखको स्थलगत अध्ययन गरेर पेट्रोलियम पदार्थ हुनसक्ने सम्भावित ठाउँ पत्ता लगाएका थिए। त्यसैका आधारमा ड्रिलिङका लागी रिग हावस निर्माण गरी ड्रिलिङ काम सुरु भएको थियो । ड्रिलिङ गरेपछि कति पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लगाउन सकिन्छ सिनिएर जिओलोजिष्ट श्रेष्ठले भने खानी भेटिएपछि त्यसको आर्थिक विश्लेषण हुने त्यसपछि मात्र उत्पादनका आवश्यक काम अगाडी बढ्नेछन् ।

 

दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण गर्न २०७२ चैतमा चीन र नेपाल बिच प्रधानमन्त्री स्तरीय द्विपक्षीय समझदारी भएको थियो । २०७६ फागुनमा विभाग र चिनियाँ जियोजिकल सर्भे कम्पनी बिच अन्वेषण र उत्खनन गर्न २ अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सम्झौता भएको थियो । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन अन्तर्गत पहिलो चरणको काम चिनियाँ प्राविधिक टोलीले पहिलो चरणअन्तर्गतको सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे गरी चार वटा सर्भेका काम तोकिएकै समयमा सम्पन्न गरिसकेको थियो । नेपालमा देखिएको कोरानाका कारण एक वर्ष धकिलिएको काम कोरोना नियन्त्रण भएपछि सुरु गरिएको थियो ।