Loading... आजः शुक्रबार, कार्तिक ९, २०८१
Trending

कर्णाली सरकारबाट बाहिरियो माओवादी


सुर्खेत  :   कर्णाली प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) सत्तारोहण भएको तीन महिना नपुग्दै बाहिरिएको छ । गत वैशाख १८ गते नेकपा (एमाले) नेता यामलाल कँडेल नेतृत्वमा कर्णाली सरकारमा माओवादी केन्द्रबाट सहभागी चार जना मन्त्रीले ७९ दिनपछि सोमबार राजीनामा दिएर बाहिरिएका हुन ।

माओवादी केन्द्रबाट कर्णाली प्रदेश सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री वीरबहादुर शाही, ऊर्जा विकास तथा जलस्रोत मन्त्री रणसिंह परियार र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गबहादुर रावत सहभागी थिए । सोमबार उनीहरुले संयुक्त पत्रकार सम्मेलन गरी सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको घोषणा गरेका हुन ।

पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन सरकारमा आफूहरू पार्टीबाट सहभागी भएको तर अहिले केन्द्रीय राजनीतिमा आएको फेरबदलले आफूहरू बाहिरिनुपरेको प्रस्ट्याए । उनले आफूहरू छोटो समयसम्म भए पनि प्रदेश सरकारमा सहभागी हुँदा निकै महत्त्वपूर्ण काम गर्न सफल भएको दाबी गर्दै उनले उहाँले आर्थिक वर्ष २०८१र०८२ को बजेट निर्माण गर्न सफल भएको जिकिर गरे ।

उनले यो अवधिमा विगतमा धेरै बजेट अबण्डा राख्ने प्रचलन रहेकोमा त्यसलाई कमी ल्याएको, असारे विकास रोक्नमा पहल गरेको र बजेट पास गरेको जस्ता महत्त्वपूर्ण काम भएको दाबी गरे । आगामी दिनमा योजना बैङ्क निर्माण गरेर काम गर्ने, आन्तरिक आम्दानी बढाउने योजनाहरू ल्याउनुपर्ने सुझाव समेत उनले दिए ।  कर्णाली प्रदेश सरकारमा माओवादी केन्द्रका १३ प्रदेशसभा सदस्य छन् । कांग्रेसका १४ जना छन् भने एमालेका सभामुखसहित १० प्रदेश सभा सदस्य छन् । यस्तै राप्रपाका एक र नेकपा समाजवादीका एक प्रदेश सभा सदस्य छन् । कर्णाली प्रदेशसभा कुल ४० सिट रहेको छ ।