Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

बेलीबृज निर्माणले राजमार्गसँग जोडियो महावै


कालीकोट : कालीकोटको महावै गाउँपालिका कर्णाली राजमार्गसँग प्रत्यक्ष जोडिएको छ । महावै गाउँपालिका –५ र खाँडाचक्र नगरपालिका –८ सेरावाडामा तिला नदीमाथि बेलीबिृज बनेपछि महावै गाउँपालिका राजमार्गसँग जोडिएको हो ।

महावै गाउँपालिकालाई कर्णाली राजमार्गसँग जोड्न कर्णाली प्रदेश सरकारको सहयोगमा सेरावाडामा बेलिव्रिज निर्माण भएको हो । लामो समयको प्रयासपछि कर्णाली प्रदेश सरकारको लागतमा भौतिक पूर्वाधार बिकास कार्यालय कालीकोटले महावैलाई राजगर्मासँग जोड्न ठेक्का आह्वान गरेको थियो ।

दुई करोड लागत अनुमान गरेर खोलिएको ठेक्कामा डिएस निर्माण सेवा काभ्रेले एक करोड ८१ लाखमा सम्झौता गरेको थियो । गाउँमा सडक बिस्तार भए पनि राजमार्गबाट प्रत्यक्ष जोड्नका लागि तिला नदीमा पुल नहुँदा समस्या हुँदै आएको थियो ।

महावै गाउँपालिकाका अध्यक्ष खेमवहादुर सिंहले आफु निर्वाचित भएसँगै तिला नदीमा पुल निर्माणका लागि मिहिनेत गर्नु परेको बताए । ठेकेदारका कारणले पक्की पुल निर्माण हुन सक्ने अबस्था नभएकाले सेरावाडामा बेलिबृज पुल निर्माणका लागि प्रदेश सरकारलाई आग्रह गरेको सुनाए ।

सरकारले महावै गाउँपालिकाको समस्यालाई समयमै बुझेका कारणले सेरावाडामा बेलिबृज पुल निर्माणको काम सकिएको अध्यक्ष सिंहको भनाइ छ । अध्यक्ष सिंहले पुलको छेउमा केही चट्टानी भाग छिचोल्न बाँकी रहेकाले लगत्तै काम गराउने र कर्णाली राजमार्गसँग सिधा सम्पर्क गर्न सहज हुने बिश्वास ब्यक्त गरे ।
पूर्वाधार बिकास कार्यालय कालीकोटका इन्जिनियर लक्ष्मणप्रसाद पाण्डेले असार मसान्तमा काम सक्नु पर्ने मिति भएको र समयमै पुल निर्माण सम्पन्न भएको खवर आएको बताए । थोरै सुधारको काम बाँकी होला, तर पुल निर्माणको काम पुरै सकिएको तस्विर समेत आएकाले भुक्तानीमा खासै समस्या नहुने बताए ।