Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

कर्णालीमा एमालेकै निरन्तरता

..

सुर्खेत  :   केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता साझेदारीको सहमति भइसकेपछि कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल प्रदेश सरकारको नेतृत्वमा आफूले नै निरन्तरता पाउनेमा ढुक्क देखिएका छन् ।
केन्द्रमा भएको प्रारम्भिक छलफल अनुसार पनि कर्णालीको नेतृत्व एमालेले गर्ने बताइएको छ । यद्यपि सहमतिको वास्तविक पत्र भने बाहिर आइसकेको छैन । ४० सदस्यीय कर्णाली प्रदेश सभामा एमालेको १० र नेपाली कांग्रेसको १४ सांसद छन् । यहाँ सरकार बनाउन कम्तीमा पनि २१ सांसदको समर्थन आवश्यक हुन्छ । दुई दल मिल्दा सहजै बहुमत पुग्ने हुँदा पहिलो चरणमा एमाले संसदीय दलका नेतासमेत रहेका कँडेलले नै मुख्यमन्त्रीमा निरन्तरता पाउने देखिन्छ ।

उता कांग्रेस भने यतिबेला संसदीय दलको नेता विहीन अवस्थामा छ । दलका नेता रहेका जीवनबहादुर शाहीविरुद्ध वाइडबडी जहाज खरिद गर्दा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै उनी निलम्बनमा छन् । कांग्रेसले अहिलेसम्म दलको नेता चयन गरेको छैन ।
यद्यपि अहिले कांग्रेसको तर्फबाट प्रमुख सचेतक हिक्मत विष्टले संसदीय दलमा नेतृत्व गरिरहेका छन् भने शाहीले आवश्यक परेको खण्डमा बाहिरबाटै सल्लाह–सुझाव दिने गरेका छन् ।

मुख्यमन्त्री कँडेल नेकपा (माओवादी केन्द्र(को समर्थनमा मुख्यमन्त्री बनेका थिए । कँडेल नेतृत्वको सरकारका माओवादीका तर्फबाट चार जना मन्त्री छन् । जसमा अर्थमन्त्री महेन्द्र केसी, सामाजिक विकासमा वीरबहादुर शाही, उद्योग, पर्यटन, वन तथा वातावरणमा दुर्ग बहादुर रावत र जलस्रोत तथा ऊर्जा विकासमा रणसिं परियार मन्त्री छन् । केन्द्रमा समीकरण बदलिएसँगै कर्णालीमा माओवादीले के गर्छ भन्ने विषय चासोका साथ हेरिएको छ ।