Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

बिषादी बिनै फलाउँछन तरकारी

..

कमल शर्मा
दैलेख :  समाजमा रहेको शोषण,दमन, र अन्यायलाई साधैका लागी अन्त्य गर्ने अठोट बोकेर युद्धमा होमिए नौमुले गाउँपालिका – ६ का धन बहादुर तारामी मगर । तत्कालीन नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको सशस्त्र युद्धको समयमा पूर्णकालीन कार्यकर्ता हुँदै माओवादी लडाकु भएर तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कमान्डर प्रकाण्ड, र पुनको सुरक्षाको जिम्मेवारी निभाए ।

सेना समायोजन गर्दा योग्य ठहरिएका मगरले नेपाली सेनामा समायोजन भई एक वर्ष जागिर गरे । नेपाली सेनाले सञ्चालन गर्ने तालीम गर्दा गर्दै स्वास्थ्यमा समस्या देखिएपछि स्वैच्छिक अवकाश लिएर गाउँ फर्कने निर्णय गरे । स्वैच्छिक अवकाश आएपछि भारतका विभिन्न ठाउँमा रोजगारी गर्न पुगेका उनलाई भारतमा गर्ने दुःख आफ्नै देशमा गर्न हुटहुटी चल्यो ।कृषि पेसामै भविष्य देखेका तारामी आधुनिक नर्सरी कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर नौमुले गाउँपालिका –५ को साट्टारमा रहेको चार रोपनी खेतमा व्यावसायिक तरकारी खेती गरिरहेका छन ।

समाजका लागी के–के न गरौँला भनेर युद्धमा होमिएँ,सेना समायोजन पनि भए तर शारीरिक अवस्थाले गाउँमै फर्कायो र कृषि खेती गर्न सिकाएको तारामीले बताए । उनले भने चार रोपनीमा जग्गा भित्र लटरम्म फलेका बोडी, टमाटर, काउली बन्दा,करेला,लौकासहितका तरकारीले अहिले दश बर्से जनयुद्ध देखी नेपाली सेनाको जागिर समेतलाई बिर्साउँछ । नौमुले बजार नजिक भएका कारण पनि बिहान र बेलुका तरकारी लिन व्यापारी घरमै पुग्ने भएपछि सिजनमा उनलाई तौलेर दिन भ्याइनभाई हुने गरेको तारामीले बताउछन । पाँच वर्ष देखी कृषि गरिरहेका तारामीले खेतीमा लागेयता आफ्नो मेहनत खेर गएको कहिल्यै महसुस गर्न नपरेको बताए ।उनले भने यसपालि वैशाखयता मौसमी बेमौसमी तरकारी खेतीबाटै राम्रो आम्दानी लिन सफल भएको छु ।

आफ्नो खेती अर्गानिक पद्धतिको भएकाले उपभोक्ताको पहिलो रोजाइमा पर्ने गरेको तारामीको भनाइ छ । तरकारीमा लाग्ने किराको नियन्त्रणका लागि दाहाल आफैँ कीटनाशक औषधि बनाउछन । यो भर्सि बास,खाडल पासो,ल्युउर राखिएको पानीको पासो,सावुनपानी पासो,मोहनी पासोले बारीमा लागेको किराको नियन्त्रण गर्ने प्रविधि र विभिन्न वनस्पति बनाएर बनाएको जैवीक मल हो उनले देखाउँदै भने तरकारीमा लाग्ने किराको संख्या र क्षतिको आङ्कलन गरेर निषादीमुक्त तरकारी उत्पादन गर्न प्रयोग गरिन्छ ।

अहिले जताततै खेतीपातीमा कडा विषादीको प्रयोग बढेसँगै कडा प्रकृतिका रोग बढेकाले सबैलाई प्राङ्गारिक खेतीमा आकर्षित गराउन पर्ने तारामीको सुझाव छ । गाउँ घरमा विगतमा अमृत हुने बस्तु बजार बाट बिषादी ल्याएर हाम्रै कारण विष बनाइएका छन्, तारामीले भने अब विषादी नियन्त्रणका लागि सरकारले अभियान नै चलाउनु पर्छ । नत्र कृषि खेती गरिरहेका किसान भेटाउन सकस हुन्छ । तारामीको तरकारी खेती देखेपछि गाउँका अन्य युवा पनि तरकारी बाट राम्रो उत्पादन लिन थालेका छन् । विषादी नछरी किरा नियन्त्रण र विषादी रहित तरकारी उत्पादनमा तारामीले अपनाएको तरिकाले हामीलाई लोभ्याएको छ नौमुले गाउँपालिका –४ का कृष्ण बहादुर थापा मगरले भने आफ्नै वरिपरि पाइने वनस्पति र गहुँतबाट किरा नियन्त्रण गरिँदा स्वास्थ्य सुरक्षा र कीटनाशक विषादीमा हुने खर्चबाट बचिएको छ ।

मुलुककै समृद्धि र जनताको मुक्तिका लागि भन्दै विगतमा बन्दुक बोकेको कुरामा पश्चात्ताप नभए पनि समृद्धिको बाटो चैँ अहिलेको बाटो नै उपयुक्त रहेको निष्कर्ष तारामीको छ । उहाँ अहिले गाउँ छिमेक वरपर राम्रो उदाहरणका नमुना कृषक बनेका छन । घरमा भेट्न आउने आफन्त हुन् कि अन्य छिमेकी यिनी (तारामीको) खेतीकै कुरा गर्छन् । पहिलो वर्ष विषादी ल्याएर तरकारी उत्पादन गरियो तर त्यसले उत्पादनको मात्र ह्रास भएपछि जलवायु अनुकूलित कृषि प्रविधि र जैविक मल प्रयोग गरे पनि तरकारीमा बाली उत्पादनमा समेत वृद्धि भएको उनको भनाइछ ।

कृषि विकास कार्यालय दैलेखका अर्ग्यानिक विज्ञ ट्रस्टी शर्माले अर्ग्यानिक मोडल फार्म कार्यक्रम र ग्रेप परियोजनाको सहयोगमा विभिन्न औजार उपकरण र प्रविधि दिएको बताइन । उनले कृषि विकास कार्यालय बाट बिउ बिजन,पक्की प्लास्टिक टनेल घर,जैविक बिषादी बनाउने ड्रम लगाएका सामाग्री हस्तान्तरण गरिएको बताइन ।

उनले भनिन विषादी प्रयोग नगरेरै अर्ग्यानिक तरकारी उत्पादन गर्न अभियान अन्तर्गत गँड्यौलाको मल समेत निर्माण गर्नका लागी आवश्यक सहयोग गरिएको छ । अर्ग्यानिक मोडेल कृषि कार्यक्रम अन्तर्गत जिल्लाको भगवतीमाई गाउँपालिका–४ मन्घर , भैरवी गाउँपालिकाको –१ रावतकोट,नारायण नगरपालिका–८ को तर्ताङमा उक्त कार्यक्रम सञ्चालन भएको बताइन । कर्णाली प्रदेश सरकारले घोषणा गरेको अर्ग्यानिक प्रदेशको नारा पुरा गर्न पहिला चरण नमुना किसानहरूलाई सहयोग गर्ने र त्यसका आधारमा अन्य किसानलाई समेत कार्यक्रममा समेट्ने लक्ष्य राखिएको अर्ग्यानिक विज्ञ शर्माको भनाइछ ।

तारामी सँगै तारामीका दुई छोरीहरू समेत बिहान बेलुका तरकारी उत्पादनमा लागेर पढ्न जाने समेत गरेका छन् । उनीहरूले आफ्नो परिवारले गरेको तरकारी खेतीका विषयमा विद्यालयमा जानकारी गराएपछि अहिले विद्यार्थीहरू समेत उक्त फर्ममा तरकारी अवलोकन गर्न आउने गरेका छन् । भैरव माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शशिराम विकले भने हामीले विद्यालय बाट विद्यार्थीलाई फर्म अवलोकन गर्ने अवसर दिएका छौ जसले विद्यार्थीका अभिभावकलाई समेत तरकारी खेती गर्न प्रेरणा जाग्न सकोस् ।