Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

दुई जना नक्कली परीक्षार्थीलाई कैद सजाय


अमृत प्याकुरेल

दैलेख : दैलेख जिल्ला अदालतले दुई जना नक्कली परीक्षार्थीलाई कैद सजाय गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले भाइको सट्टामा परीक्षा दिने दाइलाई १० दिन र दाइलाई परीक्षा दिन लगाउने भाइलाई छ दिन कैद सजाय सुनाएको जिल्ला अदालतका स्रेस्तेदार बद्रीप्रसाद लामिछानेले जानकारी दिए ।

प्रहरी प्रतिवेदन र अदालती तहकीकात अर्थात् जाँच अनुसन्धानका क्रममा समेत नक्कल परीक्षार्थी बन्ने र बनाउने कसूर गरेको ठहर भएकाले उनीहरू दुवै जनालाई कैद र जनही दुई सय रुपैयाँ पीडित राहत कोषमा तिर्न फैसला भएको स्रेस्तेदार लामिछानेले बताए ।

गैडाबाज मावि रानीवनका नियमित माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षार्थी १५ वर्षीय भाइका लागि नक्कली परीक्षार्थी बनेका १७ वर्षीय दाइले परीक्षाका बेला मुखमा मास्क लगाई आएको र प्रवेशपत्रको फोटो पछि टाँसेको देखेर केन्द्राध्यक्षले सोधीखोजी गर्दा नक्कली भएको भेटिएको थियो ।
गएको चैत १५ गते एसईईको पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षामा सहभागी भएका बेला नक्कली परीक्षार्थी दाइलाई प्रहरीले पक्राउ गरेको थियो । दाइलाई परीक्षा दिन पठाउने भाइलाई प्रहरीले चार दिनपछि पक्राउ गरेको थियो । प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकील कार्यालयले गएको चैत २७ गते दैलेख जिल्ला अदालतमा परीक्षा कसूरमा मुद्दा दर्ता गरेको थियो ।