पुलको लट्ठा चुँडिंदा अड्किएका खच्चडको उद्धार
दैलेख : अछामको चिनेतडा र दैलेखको खिड्कीजिउला जोड्ने बीबीएलएल झोलुङ्गे पुलको लट्ठा चुँडिंदा पुल चँडिंएको छ । खिड्कीजिउलापट्टि बेसमा बाँधिएको पुलको मुनिपट्टिको लट्ठा चुँडिएर आउजाउ गर्न नमिल्ने गरी टाँगिएपछि पुलमै अड्किएका १३ वटा खच्चड उद्धार गरिएको छ ।
अछामको पञ्चदेवलबिनायक नगरपालिका–९ राँकु गाउँको व्यापारीको चामल लिन खिड्कीजिउला पुग्नै लागेको बेला उक्त दुर्घटना भएको हो । विहान साढे १० बजेतिर खच्चडहरु एकै पटक आउँदा पुलको लट्ठा चुँडिंदा अड्किएका मध्ये ११ वटाको जीवितै उद्धार गरिएको र दुई वटा मृत्यू भएको सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।
घटनाको जानकारी आउना साथ घटनास्थल पुगेको नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरी स्थानीयहरुको समेत सहयोगमा पुल तार काटेर पुुलमा अड्किएका खच्चडहरुको उद्धार गरेका दैलेख प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।
झोलुङ्गे पुल आउजाउ गर्न नसकिने भएपछि पञ्चदेवलबिनायक नगरपालिका–९ को चन्द्रिका मावि कालेकाँडामा पढ्न गएका दैलेखको खिड्कीजिउला, मालाचौर, किटु, घट्टेखोलाका बालबालिकाहरुलाई डुङ्गाबाट कर्णाली नदी पार गराइएको थियो ।