दुई सय ६३ मिटर ड्रिलिङ सकियो
दैलेख : दैलेखको भैरवी गाउँपालिका– १ जलजलेमा सुरु गरिएको पेट्रोलियम अन्वेषणको अन्तिम ड्रिलिङ कार्यअन्तर्गत २६३ मिटर जमिनमुनि ड्रिलिङ कार्य सकिएको छ ।पहिलो ५० मिटरको होलमा सबैभन्दा मोटो फलामको पाइप राख्ने काम सकिएसँगै अहिले अन्य साना साइजका पाइपहरू जमिनमुनि व्यवस्थापन गर्दै माटो परीक्षणको काम धमाधम सुरु गरिएको छ ।
नेपालको समृद्धिको आधार मानिएको दैलेखको भैरवी गाउँपालिका– १ जलजलेको पेट्रोलियम अन्वेषणको अन्तिम नतिजा सकारात्मक आउने आशा गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिएका छन् । उनले भने, ‘सबै कामहरू धमाधम चलिरहेको अवस्था छ, अहिलेसम्म कुनै पनि अवरोध आएको छैन ।’
होल खनिएसँगै ठूला ट्रेसिङ पाइप जमिनमुनि राख्ने कामहरू पनि सँगसँगै गरिएको खानी तथा भूगर्भ विभागका अन्वेषण परियोजना प्रमुख दिनेशकुमार नापितले जानकारी दिए ।
अन्वेषणका लागि रातदिन काम गरिएको छ । रातको समयमा र दिनको समयमा काम गरेर कुनै समस्या नआएको खण्डमा चार महिनामा अन्तिम रिपोर्ट आउन सक्ने चिनियाँ प्राविधिकहरूले जानकारी दिएका छन् । क्रेनबाटै ठूला समानहरूको व्यवस्थापन गर्नुपर्ने भएकाले केही समस्या आए ६ महिनामा ड्रिलिङ कार्य सकिने बताइएको छ ।
पहिलो होलको ५० मिटर दूरीमा सबैभन्दा मोटो पाइप राख्ने काम सम्पन्न भइसकेको छ । ५० मिटरमुनिको भागमा क्रमशः मसिनो पाइप राख्दै खन्ने काम चलिरहेको र सोहीअनुसार प्राप्त भएको माटोको परीक्षण पनि अन्वेषण स्थलमै खटिएका चिनियाँ विशेषज्ञ प्राविधिकहरूले गरिरहेका छन् ।
प्रत्येक मिटर जमिन ड्रिलिङ गरेर प्राप्त भएको माटोको तत्कालै परीक्षण गर्दै प्राप्त रिपोर्टलाई संकलन गरिएको छ । यो रिपोर्टले नेपालका अन्य स्थानहरूमा पनि परीक्षणका लागि निकै ठूलो सहयोग पुग्ने दिनेश नापितको भनाइ छ ।
नेपाल सरकार र चीन सरकारसँग ०७५ सालमा भएको जिटुजी सम्झौताअनुसार चीन सरकारको करिब दुई अर्ब ५० करोड अनुदान लागतमा गरिएको अन्तिम अध्ययनले दैलेखको जमिनमुनि कति परिमाणमा पेट्रोल र ग्यास छ भनेर पत्ता लाग्नेछ ।
आर्थिक र वातावरणीय हिसाबले उत्खननयोग्य भएमा प्रशोधनको अर्को कार्य सुरु हुनेछ । यो परियोजना सफल भए नेपालको आर्थिक अवस्था सुधार हुने आशा गरिएको दैलेख उद्योग वाणिज्य संघका उपाध्यक्ष रूपक थापाले जानकारी दिए ।