जहाजले ठक्कर दिँदा स्टेसन प्रमुख घाइते
मुगु : हिमाली जिल्ला मुगुको ताल्चा विमानस्थलमा उड्न लागेको जहाजले ठक्कर दिदाँ स्टेसन प्रमुख घाइते भएका छन् । विमानस्थल प्रमुख धीरेन्द्र भाम घाइते भएपछि अचेत अवस्थामा रहेका भामलाई सोही एयरको विमानमार्फत उपचारका लागि नेपालगन्ज लगिएको थियो । विमानस्थल प्रमुख भामलाई त्यहाँ उपचार हुन नसकेपछि काठमाडौं रिफर गरिएको हो ।
जिल्ला प्रहरीका कार्यालय मुगुका अनुसार आज १२ बजेतिर ताल्चाबाट नेपालगन्जका लागि उड्न लागेको सीता एयरको ट्विनअटर जहाजको अघिल्लो भागको पङ्खाले भामलाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय मुगुका सूचना अधिकारी, प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीका अनुसार उनी गम्भीर घाइते भएको र उनलाई नेपालगन्ज हुँदै काठमाडौं पठाइएको हो ।
उनका अनुसार भामले जहाजका चालकलाई जहाज उडान गर्न सङ्केत गरिरहेका थिए । जहाज बिस्तारै गुडिरहेका बेला चालकले बोलाएपछि भाम जहाजतर्फ गइरहेका थिए । त्यही बेला जहाजको अघिल्लो भागको पङ्खाले ठक्कर दिएपछि उनी घाइते भएका हुन् । भामको टाउको धेरै चोट लागेको सूचना अधिकारी कार्कीले बताएका छन्।