सन्दीपलाई दिएन अमेरिकी दूतावासले भिसा
काठमाडौँ : बलात्कार मुद्दामा सफाइ पाएर टी २० विश्वकप खेल्न अमेरिका जाने तयारीमा रहेका नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ।बुधबार साँझ ४ बजेका लागि उनी दूतावासमा भिसा अन्तर्वार्ताका लागि पुगेका थिए।
सन्दीपले सामाजिक सञ्जालमार्फत आफुलाई भिसा दिन अमेरिकी दूतावासले अस्वीकार गरेको जानकारी दिएका छन्।
लेग स्पिनर लामिछानेलाई यसअघि २०१९ मापनि अमेरिकी दुतावासले भिसा दिएको थिएन। बलात्कार मुद्दामा लामिछानेलाई पाटन उच्च अदालतले गत २ जेठमा सफाइ दिएको थियो। त्यसपछि क्यानले उनको भिसा प्रकृया सुरु गरेको थियो।
न्यायाधीश सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीप निर्दोष रहेको भन्दै सफाइ दिएको थियो। अदालतले सफाइ दिएसँगै क्यानले सोही दिन सन्दीपको निलम्बन फुकुवा गर्दै टी २० विश्वकपको सहभागिताको प्रयास सुरु गरेको थियो। तर अमेरिकी दूतावासले सन्दीपलाइ भिसा नदिएसँगै उनी विश्वकप सहभागिताबाट बञ्चित हुने पक्का भएको छ। यसअघि सन्दीपलाई अमेरिकाले २०२० मा दिएको भिसा २०२२ को सेप्टेम्बरमा रद्द गरेको थियो।