कर्णाली अथाह सम्भावना भएको प्रदेश : मन्त्री अर्याल
सुर्खेत : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले कर्णालीमा अथाह सम्भावना भएको प्रदेशका रूपमा आफूले चिन्ने गरेको बताएका छन । शनिबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कर्णालीको जडीबुटी, बहुमूल्य ढुङ्गाहरू बेचेर नै धनी हुने सम्भावना रहेको बताए ।
त्यसका लागि सबैले सकारात्मक कुराहरूमा धेरै ध्यान दिनुपर्ने बताए । कर्णालीबारे सधैँ नकारात्मक कुराहरू मात्र प्रचारमा आउने गरेको भन्दै उनले सञ्चारकर्मीहरूले पनि सकारात्मक र सम्भावनाका कुराहरूलाई प्रचारमा ल्याउनुपर्नेमा जोड दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति समेत रहेका अर्यालले कर्णाली बुझ्ने अवसर पाएको भन्दै कालिकोटको रास्कोटमा २५ बेटको अस्पताल बनाएको उल्लेख गरे । त्यहाँ अहिले सबै दिन सोलारबाट सेवा प्रदान गर्ने गरी व्यवस्थापन भएको बताए । मन्त्री अर्यालले कार्यभार सम्हालेपछि हरेक दिनलाई केहि न केहि काम गर्नुपर्छ भनेर लागिरहेको बताए ।