वेस्ट इन्डिजविरुद्ध नेपाल ४ विकेटले विजयी
काठमाडौँ . : कप्तान रोहितकुमार पौडेलको शतकमा वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले शानदार जित निकालेको छ। त्रिवि क्रिकेट मैदानमा पाँच खेलको सिरिजको पहिलो खेलमा नेपालले दुई बल बाँकी हुँदा ४ विकेटको जित निकालेको हो।
नेपालका लागि कप्तान पौडेलले ५४ बलमा ११२ रन बनाए । उनले ६ छक्का र १० चौका प्रहार गर्दै ११२ रन बनाउनुभएको हो। दिपेन्द्रसिंह ऐरीले २४, कुशल भुर्तेलले १६, कुशल मल्लले १६, अनिल शाहले ५ रन बनाउनुभयो। गुल्सन झा नटआउट ९ रन बनाए भने प्रतिस जिसीले नटआउट ५ रन जोडेका थिए ।
वेस्ट इन्डिजका लागि म्याथ्यू फोर्ड र ओबेद म्याकोएले दुई दुई विकेट हात पारे भने किमो पलले १ विकेट लिए ।
टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको नेपाललाई वेस्ट इन्डिज ‘ए’ले २०५ रनको चुनौती दिएको थियो। नेपालविरुद्धको ब्याटिङमा वेस्ट इन्डिजका कप्तान रोस्टन चेसले शानदार अर्धशतक पूरा गरे । उनले ४६ बल खेल्दै ७४ रन बनाउनुभएको हो। एलिक एथेनाजेले ४७ रन बनाउँदा केसी काटीले ३८ रन बनाए ।
वेस्ट इन्डिजलाई सस्तैमा समेट्न नेपालका लागि कमल ऐरी, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र अविनाश बोहोराले एकएक विकेट हात पार्नुभयो। दुई टोलीबिचको दोस्रो खेल आइतबार हुनेछ ।