बैङ्क खाता खोल्न राजी भए राउटे समुदाय
कमल शर्मा
दैलेख : पश्चिम नेपालका जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय बैङ्क खाता मार्फत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न सहमत भएका छन् । सामाजिक सुरक्षा भत्ता वितरण गर्दा राउटे समुदायका प्रत्येक नागरिकको बैङ्क खातामा जम्मा गर्ने र पछि समुदायमै गएर भत्ता वितरण गर्ने सहमति भएपछि उनीहरू खाता खोल्न सहमत भएका हुन ।
राउटे समुदायका मुखिया सूर्यनारायण शाहीले सरकारले दिने सामाजिक सुरक्षा भत्ता वितरण गर्दा बस्तीमै आएर वितरण गर्ने भनेपछि आफूहरू खाता खोल्न राजी भएको बताए । उनले समुदायका नागरिक पढ्न लेख्न नजान्ने र बैङ्कमा गएर चेक काट्न नसक्ने भएकाले बस्तीमै आएर भत्ता वितरण गर्न बैङ्क र गाउँपालिकाले मानेपछि आफूहरू खाता खोल्न राजी भएको बताए । उनले भने “हामी बैङ्कमा गएर पैसा ल्याउन सक्दैनौ त्यो हामीलाई थाहा छैन तपाइहरूले बस्तीमै आएर भत्ता वितरण गर्नुपर्छ भनेका छौँ ”उहाँहरूले हुन्छ भन्नुभएको छ ।
गुराँस गाउँपालिका दैलेखका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनेश दहालले सामाजिक सुरक्षा भत्ता वितरण कार्यबिधि २०७७ बमोजिम राउटे समुदायका नागरिकको सामाजिक सुरक्षा भत्ता बैङ्कमै जम्मा गर्ने उद्देश्यले उनीहरूको खाता खोलिएको बताए । उनले भत्ता पाउने लाभग्राहीको फोटो सहित मूल अभिलेखमा राखेपछि त्यसैका आधारमा कोष तथा लेखा नियन्त्रण कार्यालय बाट रकम निकासा गर्नु पर्ने भएको हुँदा राउटे समुदायको समेत अभिलेख राखिए पनि बैङ्क खाता नहुँदा समस्या भएपछि उनीहरूलाई बैङ्क खाता खोल्ने र खातामा रकम जम्मा गर्ने पछि सम्बन्धित वडा कार्यालयको सहयोगमा वितरण गर्ने बताए ।
सोसेक नेपाल द्वारा सञ्चालित राउटे परियोजनाका जोडी शिक्षक लाल बहादुर खत्रीले राउटे समुदायलाई बैङ्क खाता खोल्न सहमत गराउन हम्मे भएको बताए । उनले राउटे समुदायका नागरिकलाई बल्ल बल्ल बनाएर खाता खोल्न सहमत गराएको र त्यस अनुसार बैङ्कका कर्मचारी,गाउँपालिकाका कर्मचारी, परियोजनाबाट परिचालित कर्मचारी लागेर एक सय ७ जनाको विवरण लिएको र अव ३० जनाको बाँकी रहेको बताउनुभयो । उनले ३० जनाको विवरण संकलन गरेर बैङ्कमा बुझाउने र त्यसपछि खाता खोल्ने बताए ।
गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर बिसीले गुराँस गाउँपालिका –८ का स्थायी बासिन्दा भए देखी गुराँस गाउँपालिका –८ वडा कार्यालयले राउटे समुदाय जहाँ पुग्यो त्यही गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको भए पनि सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि अनुसार नहुँदा समस्या भएका कारण गाउँपालिकाको सहरीकरणमा प्रभु बैँकलाई आग्रह गरी बस्तीमै पुगेर खाता खोलिएको बताए । उनले भने राउटे समुदायले खाता खोलेपनि बस्तीमै आएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सहमति भए पनि बिस्तारै राउटे समुदायलाई नै आफ्नो बैङ्क खाता बाट आफै रकम निकाल्न सक्षम हुने विश्वास लिएका छौँ । राउटे समुदायलाई नेपाल सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता वितरण गर्दा एक पटक सबै रकम जम्मा दिनुपर्ने र उनीहरू एक दुई दिनमै सबै रकम सक्ने समस्यालाई समेत ख्याल गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।
गुराँस गाउँपालिकाले २०७५ सालमा गुराँस गाउँपालिका–८ गर्चामा बसेको बेला कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोग र जिल्ला प्रशासन कार्यालयको रोहबरमा एक सय ४९ जनालाई गाउँपालिकाले स्थायी परिचयपत्र वितरण गरेको थियो । अहिले राउटे समुदायको जनसङ्ख्या घटेर एक सय ३७ पुगेको छ । गाउँपालिकाले गुराँस गाउँपालिका–८को स्थायी बासिन्दाको परिचयपत्र दिएपछि उनीहरूले पाउने सामाजिक सुरक्षा भत्ता गुराँस गाउँपालिकामा आउने गरेको छ । पैसा छोए पाप लाग्छ भने समुदाय पछिल्लो समय नागरिकको घुलमिल बढ्दै गएपछि अहिले उनीहरू अन्य नागरिक सरह मद्यपान र धुब्रपान गर्दै हिँड्ने गरेका छन् । पहिला जङ्गलमा पाइने कन्दुमुल,गिट्ठा खाने र काठबाट निर्माण गरेका सामाग्री अन्न सँग साटेर खाने उनीहरू पछिल्लो समय आम नागरिक जस्तै बजार बाट सामान किनेर खाने गरेका छन् ।