Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

छोरी बलात्कार कसुरमा बाबुलाई ४३ वर्ष कैद


दैलेख  :   दैलेख – १४ वर्षीया छोरीलाई बलात्कार गरेको कसूरमा दैलेखमा एक जना ३८ वर्षीय बाबुलाई दैलेख जिल्ला अदालतले आइतबार ४३ वर्ष कैद, पाँच लाख रुपियाँ जरिवाना, पचास हजार रुपियाँ क्षतिपूर्ति र २८ सय रुपियाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट छोरीलाई हाडनाता करणी कसूरमा २५ वर्ष र बलात्कार कसूरमा १८ वर्ष कैद समेत गरी ४३ वर्ष कैदसंगै उक्त जरिवाना, क्षतिपूर्ति र पीडित राहत कोषमा तिर्नुपर्ने फैसला भएको अदालतका सूचना अधिकारी हरिप्रसाद उपाध्यायले जानकारी दिए ।
मुलुकी अपराध सहिंता २०७४ को दफा २२० को उपदफा २ (क) मा उल्लेखित ‘जन्माउने आमा छोराको वा बाबु छोरीको करणी भएमा जन्मकैद’ र दफा २१९ मा पीडित महिलाको उमेर हेरी सजाय सजाय हुने व्यवस्था अनुसार उपदफा ३ (ख) मा लेखिए अनुसार ‘१० देखि १४ वर्ष उमेरकी बालिकालाई करणी गरेमा १८ देखि २० वर्ष कैद हुन्छ’ भन्ने कानूनी व्यवस्था अनुसार एकै मुद्दामा जन्मकैद र थप सजाय समेत ४३ वर्ष कैद गरिएको फैसलामा उल्लेख छ ।
०८० वैशाख २३ गते ती छोरीलाई आफ्नै बुबाले बलात्कार गरेको भन्दै वैशाख २३ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा दिएको उजुरीका आधारमा प्रहरीले त्यही दिन घरबाटै गिरफ्तार गरेको थियो । स्वास्थ्य परीक्षण प्रतिवेदन, पीडित बालिकाको बयान लगायतको प्रमाणका आधारमा प्रहरीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकील कार्यालयले ०८० जेठ १६ गते दैलेख जिल्ला अदालतमा हाडनाता करणी सम्वन्धी अभियोग दर्ता गराएको थियो ।
अभियोग सम्वन्धमा जेठ १६ गते नै भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश बलराम लम्सालकै इजलासबाट कसूरदारलाई पुर्पक्षका लागि थुनामा राख्न दैलेख काराकारमा पठाइएको थियो ।