Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिँदै

सुर्खेत   :   भौगोलिक रूपमा कठिन तथा चुनौतीपूर्ण स्थानहरूमा पूर्वाधार निर्माणको जिम्मा लिँदै आएको नेपाली सेनाले यसै वर्ष हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिने जनाएको छ । भौगोलिक विकटताका कारण निर्माणमा कठिनाइ ठानिएको कर्णाली करिडोरको जिम्मा पनि नेपाली सेनाले पाएको छ । उक्त आयोजना अन्तिम चरणमा पुर्‍याइएको सेनाले जानकारी दिएको छ । करिडोर भारत र चीनसँग जोडिन्छ ।

हुम्लाको लालीबगरदेखि दुल्लीकुनासम्मको ११ किलोमिटर कडा चट्टानी पहाडमा सेनाले ट्र्याक खोल्ने काम अन्तिम चरणमा पुर्‍याएपछि आउदो वैशाखबाट करिडोर सञ्चालनमा आउने भएको हो । करिडोरअन्तर्गत पर्ने सडकमध्ये ट्र्याक खुल्न बाँकी छहारेदेखि लिप्चेसम्म ८ सय मिटर भिर काट्ने काम अन्तिम चरणमा पुगेसँगै वैशाखबाट सञ्चालनको तयारी रहेको नेपाली सेनाको सडक निर्माण कार्यदलका प्रमुख सेनानी अमृत पराजुलीले बताए ।
यो खण्डको ट्र्याक खुलेसँगै हुम्ला पनि राष्ट्रिय सडक सञ्जालसँग जोडिने छ । अहिलेसम्म राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको एक मात्रै जिल्ला हुम्ला हो । ‘नयाँ वर्षको अवसर पारेर राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको एक मात्र जिल्ला हुम्ला सदरमुकाम सिमकोटमा गाडी पुर्‍याउने लक्ष्यका साथ काम भइरहेको छ’, पराजुलीले भने, ‘चैतसम्म बाँकी रहेको झण्डै ८ सय मिटर सडकको लेभल मिलाइसक्छौँ ।’

कर्णाली करिडोरअन्तर्गतको लालीबगर–दुल्लीकुना सडकको ट्र्याक खुलेसँगै उत्तरको छिमेकी चीनसँग स्थलमार्गबाट कर्णाली र सुदूरपश्चिम प्रदेश जोडिने छ । सेनाले अहिले काम गरिरहेको लालीबगर–दुल्लीकुनाअन्तर्गत पर्ने छहारेदेखि लिप्चेसम्मको भीर सबैभन्दा कठिन हो । सेनाले अहिले यही खण्डमा काम गरिरहेको छ । कडा चट्टान फुटाउनका लागि ब्लास्टिङको काम सकेर ८ सय मिटर सडकखण्डको लेबलङिग सेनाले गरिरहेको छ ।

यस्तै हाल सडक विभागले काम गरिरहेको बोक्चे गौँडा, भी–गौँडा, दुली कुना र याङ्चुका मोड काट्नुका साथै सडकको लेभल मिलाउने जिम्मेवारी पनि सेनाले पाएको छ । यो सडकमा साना सवारी सञ्चालन रहे पनि ठूला सवारी सञ्चालन कठिन हुने गरेको छ ।

कर्णाली करिडोर नेपाल, भारत र चीन जोड्ने त्रिदेशीय सडक हो । भारतसँगको सिमाना लुम्बिनी प्रदेशको बाँकेअन्तर्गत जमुनाहदेखि चीनसँगको सिमाना हिल्सासम्मको सडकको दूरी ५ सय ५ किलोमिटर पर्दछ । यो सडक बाँकेको जमुनाहदेखि सुर्खेत, कालिकोट, सुदूरपश्चिमको बाजुरा, हुम्ला सदरमुकाम सिमकोटहुँदै चीनको सीमा क्षेत्र हिल्सासम्म पुग्छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट हिल्सा पुग्न ४ सय १९ किलोमिटर पार गर्नुपर्ने हुन्छ ।

कर्णाली करिडोर कालीकोटको नरहरिनाथ गाउँपालिकाको खुलालुदेखि सुरु हुन्छ । सुदूरपश्चिमको बाजुरा भएर हुम्ला सदरमुकाम सिमकोटहुँदै उत्तरको छिमेकी चीन जोड्ने यो सडकको बाँकी खण्डमा यातायातका साधन सञ्चालन भइरहेका छन् । हुम्ला सदरमुकाम सिमकोटदेखि चीनको सिमाना हिल्सासम्म र कर्णाली करिडोरको बाँकी खण्डमा पनि यातायातका साधन चलिरहेका छन् ।

सेनाले कर्णाली करिडोरअन्तर्गत कालिकोटको घाटपारी चौरदेखि बाजुराको झुम्काखोलासम्मको ११ दशमलव ५ किलोमिटर सडकको ट्र्याक खोल्ने काम गरिरहेको छ । यो सडक खण्ड निर्माण भए कर्णाली करिडोर आठ किलोमिटर छोटो हुनेछ । ११ दशमलव ०५ किलोमिटरमध्ये ३ दशमलव ५ किलोमिटर सडकको ट्र्याक सेनाले खोलेको छ । चालु आर्थिक वर्षमा थप १ दशमलव ५ किलोमिटर सडकको ट्र्याक खोल्ने लक्ष्य सेनाले राखेको छ ।

संघीय सरकारले उत्तरको छिमेकी चीन जोड्ने कर्णाली करिडोरअन्तर्गतको दुल्लीकुना–लालीबगर खण्ड निर्माणको जिम्मा दुई वर्षअघि नेपाली सेनालाई दिने निर्णय गरेको थियो । २०७८ साउनमा सेनाले कर्णाली करिडोरअन्तर्गतको खुलालु–हिल्सा सडकको १ सय २२ किलोमिटर सडक निर्माण सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गरेको थियो ।

सल्लीसल्लादेखि सिमकोटसम्मको ५१ किलोमिटर खण्डमध्ये बाँकी खण्डमा ट्र्याक खुलिसकेको छ । हुम्ला सदरमुकाम सिमकोटदेखि हिल्सासम्मको ९४ किलोमिटर सडक अहिले पनि सञ्चालनमा छ ।

संघीय सरकारले चालु आर्थिक वर्षका लागि कर्णाली करिडोर सुधारका लागि ९७ करोड रुपैयाँ छुट्याएको छ । कर्णाली प्रदेश दक्षिणको छिमेकी भारतसँग जोडिएको छैन । त्यसैले पनि उत्तरको छिमेकी चीनसँग स्थलमार्गबाट जोडिनु कर्णालीका लागि महत्त्वपूर्ण छ । कर्णाली करिडोर सञ्चालनमा आएसँगै हाटभोटको व्यापार पुन सुरु हुनुका साथै मानसरोवर यात्रा गर्नेका लागि यो करिडोर स्थालमार्गबाट सबैभन्दा छोटो र सहज हुनेछ ।

कर्णाली करिडोरअन्तर्गत कालिकोटको खुलालुदेखि चीनको सीमा हिल्सासम्मको दूरी २ सय ६८ किलोमिटर पर्दछ । त्यसमध्ये सबैभन्दा कठिन भूभाग १ सय २२ दशमलव ७५ किलोमिटर सडक निर्माणको जिम्मा सरकारले ५ चैत २०७१ म नेपाली सेनालाई दिएको थियो ।

सेनाले यसअघि कर्णालीमा सुर्खेत–जुम्ला ८८ किलोमिटर, छिन्चु–जाजरकोट ४५ किलोमिटर, जाजरकोट–डोल्पा १ सय १७ दशमलव ७ किलोमिटर र नाग्म–गमगढी ९४ किलोमिटर सडक निर्माण गरी नेपाल सरकारलाई हस्तातरण गरिसकेको छ ।