Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

हिमपात र वर्षाले थप पीडामा भूकम्प पीडित

सुर्खेत  :  बिहीबार बिहानदेखि कर्णालीका सबैजसो जिल्लाहरूमा वर्षा र हिमपात भइरहेको छ । वर्षा र हिमपातसँगै चिसो बढेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । यहीबिचमा जाजरकोट भूकम्पका पीडितहरूलाई हिमपात र वर्षाले थप पीडा दिइरहेको छ ।
माघको चिसो, त्यसैमा वर्षा र हिमपातले भूकम्प पीडितहरू सकसमा परेका छन् । ‘पानीले गर्दा हाम्रो अवस्था निकै अस्तव्यस्त भयो, चिसोले समस्या थियो नै त्यसैमा पानी परेपछि अस्थायी छानोले पानी छेक्न सक्ने अवस्था रहेन नलगाड नगरपालिका–१, चिउरीका भूकम्प पीडित प्रकाश विकले भने,चिसोले बुढाबुढी र बालबालिकालाई समस्या दियो । उनका अनुसार बिहीबारको पानीले छानोभित्र सिधै पानी पस्दा निकै समस्या भइरहेको छ । भूकम्प पीडितको जनजीविका अस्तव्यस्त भइरहेको उनले बताए ।

हिजो (बिहीबार) बिहान तीन बजेबाट पानी आएको हो, बसाई निकै अस्तव्यस्त छ,’ उनले भने, हाम्रो गाउँका घाइतेहरूलाई अझ समस्या छ । दीर्घ रोगी, घाइते, गर्भवती महिलालाई टहरामा चिसो हुन्छ ।’ उनका अनुसार पशु चौपायालाई समेत समस्या भएको छ । घरहरू भत्कँदा पशु चौपायाहरुलाई बाहिरै बाँध्ने काम भएको छ । ‘हामी त चिसोमा लुटुपुटु भए पनि बच्ने प्रयास गरेका हुन्छौँ,’ उनले भने, तर गाई गोरु मर्ने भए हजुर, के गर्ने समस्या नै समस्या भयो,’ अस्थायी आवासले चिसो छेक्न नसक्ने उनले बताए ।
चिउरी भूकम्पबाट पुरै तहसनहस भएको गाउँ हो, त्यहाँका १३ जनाको भूकम्पमा परी मृत्यु भएको थियो भने चिसोबाट एक जनाको मृत्यु भएको छ । जतिसक्दो राज्यले पुन निर्माणको प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ छ । जाजरकोट सदरमुकाम खलङ्गाकी भूकम्प पीडित ललिता पुन मगरले भनिन्, भूकम्प र त्यसबाट हुने असरले बाँचेकाहरूलाई थप पीडा भइरहेको छ । बाँचेकाहरूका सपनाहरू मर्न थालिसकेका छन् ।’ बाँचेकाहरूमा समेत मनोवैज्ञानिक असर परिरहेको उनको भनाइ छ । जाजरकोटमा भूकम्पपछि चिसोले ३० भन्दा बढीको ज्यान गइसकेको छ । वर्षा र हिमपातपछि त्यो सङ्ख्या अझ बढ्ने चिन्ता देखिन्छ । चिउरीका स्थानीय युवा हात्तीराम महर दीर्घ रोगी, बालबालिका, सुत्केरी, गर्भवतीलाई कसरी जोगाउने चिन्ताको विषय रहेको बताउँछन् ।
जाजरकोटको कुशे गाउँपालिकाको अधिकांश क्षेत्रमा हिमपात हुन्छ । हिमपातले पीडितहरूलाई निकै पीडा दिइरहेको गाउँपालिकाका उपाध्यक्ष देवीका कुमारी सिंहले बताइन् । उनका अनुसार घर कुनै पनि बस्न लायक छैनन् । टहराको बसाइपनि सहज नभएको उनको भनाइ छ । उनले भनिन्, ‘हिउँ परेपछि जम्दो रहेछ, टिनमा पानी जमेको अहिले त भित्र ओछ्यानहरू पुरै भिज्न थालेका छन् । कुशेमा पाँच हजार दुई सय ८७ घरमा क्षति पुगेको थियो ।’ सिंहका अनुसार लगभग अधिकांश व्यक्तिको अस्थायी टहरा बनिसकेको छ । साभार