Loading... आजः बुधबार, साउन १, २०८२
Trending

कृषि मन्त्री शर्माका एक वर्षे कार्यप्रगति सार्वजनिक

सुर्खेत  : कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्माले आफ्ना एक वर्षे कार्यप्रगति सार्वजनिक गरेका छन् । बुधबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री शर्माले आफ्नो १ वर्षे कार्यकालमा उल्लेख्य काम गरेको दावी गरेका छन् । कार्यप्रगति सार्वजनिक गर्दै मन्त्री शर्माले आफ्नो एक वर्षे कार्यकाल कर्णालीको कृषि प्रणालीको सुधारमा बिताएको दावी गरे । जसबाट प्रदेशभर २ हजार बढी नागरिकलाई कृषि कर्ममा लगाई पूर्ण स्वरोजगार बनाएको दावी गरे ।

 

वास्तविक किसानको पहिचान तथा उनीहरुको हितका लागि नीतिगत सुधार गरी विभिन्न प्रोत्साहन कार्यक्रम अगाडि सारेको मन्त्री शर्माले बताए । जस अन्तर्गत हिँउदे फलफुल क्षेत्र विस्तारका लागि ४९ हजार ८ सय स्याउ, २६ हजार ४ सय ३६ ओखर, ८ हजार ९ सय किवीफल र ६ सय ड्रागनफल गरी जम्मा ८५ हजार ७ सय ३६ विरुवा वितरण गरी करीव २ सय १५ हेक्टर क्षेत्रफल विस्तार भएको उनले बताए । जसमा ३ सय ५ घरधुरी प्रत्यक्ष लाभान्वित भइ २ सय ५० जनाले १५ दिन वरावरको प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन भने यस कार्यक्रमबाट ३ सय जनालाई पूर्ण स्वरोजगार बनाउन सफल भएको मन्त्री शर्माले दावी गरे ।

कृषि ब्याज अनुदान कार्यक्रम मार्फत ४ करोड ७१ लाख लगानीमा ८७ करोड ८३ लाख पूँजीकृषि क्षेत्रमा परिचालन हुँदा १ हजार ३ सय ५७ जना कृषक लाभाविन्त भएका छन् । जसबाट ८ सय ५० जना पूर्ण स्वरोजगार भएका छन् भने ३ हजार ५ सय ७० जनालाई ३ महिना बराबरको आंशिक रोजगारी दिन सफल भएको मन्त्री शर्माले बताए । यस्तै लक्षित वर्ग विशेष कार्यक्रम, प्राङ्गारिक कृषि प्रवर्द्धन तथा रैथाने बाली विकास कार्यक्रम, जग्गा भाडामा अनुदान, र कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन कार्यक्रमहरुबाट ४ हजार ८ सय ३५ घरधुरी लाभान्वित भएको मन्त्री शर्माको कार्यप्रगतिमा उल्लेख छ ।

जसबाट ९ सय ४७ जना पूर्ण स्वरोजगार र ४ हजार ९६ जनालाई झण्डै ४ महिना बराबरको आंशिक रोजगारी सिर्जना भएको दावी गरिएको छ । दुग्ध प्रवर्द्धन कार्यक्रम मार्फत दुध उत्पादन गर्ने कृषकलाई पहाडी जिल्लामा प्रतिलिटर ५ रुपैयाँ र हिमाली जिल्लामा प्रतिलिटर १० रुपैयाँको दरले १ करोड २७ लाख ४८ हजार रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराइएको छ । जसबाट २३ लाख ९२ हजार ९ सय ८८ लिटर दुध संगठित बजारमा पुगी ३ हजार ५३ जनालाई ५ महिना र ४ सय १२ जनाले पूर्ण रोजगारी पाएको मन्त्री शर्माले दावी गरेका छन् ।

मन्त्रालयले सुर्खेत र रुकुम पश्चिम लगाएतका जिल्लाको विभिन्न स्थानमा जग्गा भाडामा लिई व्यवसायिक रुपमा खेती गर्ने ९७ जना कृषकलाई जग्गा भाडामा प्रतिशत अनुदान उपलब्ध गराएको जनाएको छ । उक्त कार्यक्रमबाट थप करीव २ सय जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरी हाल व्यवसायिक खेती गरी रहेको शर्माले बताए । बेरोजगार १ सय जना कृषि प्राविधिकहरुलाई स्वरोजगार कार्यक्रममा समावेश गराइएको छ । यस्तै, गत आर्थिक वर्ष २०७९/०८० मा साना सिंचाई तथा मर्मत सम्भार तर्फ ७ सय ८८ वटा सिंचाई योजना निर्माण सम्पन्न भई १ हजार ५० हेक्टर क्षेत्रफलमा सिंचाई सुधार हुँदा १ सय १५ हेक्टर सिंचाई सुविधा थप भएका छन् ।

सिंचाई योजना निर्माण तथा मर्मत सम्भारको क्रममा १५ हजार २ सय २० जनालाई २ महिना बराबरको अस्थाई रोजगारी सृजना हुँदा १८ हजार ४ सय ५६ घरधुरी लाभान्वित भएको शर्माले उल्लेख गरेका छन् । गत वर्ष आएको बाढी पहिरोका कारण क्षति भएका सिंचाई संरचनाको लागि ६ करोड १३ लाख विनियोजन गरि २ सय १३ वटा सिंचाई संरचनाको मर्मत सम्भार तथा पुनःनिर्माण कार्य भई धान रोपाईमा सहज भएको शर्माले बताए । चालु आर्थिक वर्ष २०८०/०८१ मा साना सिंचाई तथा मर्मत सम्भार तर्फ ६ सय २८ वटा सिंचाई योजना मध्ये ५ सय ५ वटा सिंचाई योजनाको सम्झौता भई निर्माण कार्य सुरु भएको मन्त्रालयले जनाएको छ ।