Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

हत्या कसूरमा जन्मकैदको फैसला


दैलेख  :  व्यक्ति हत्याको कसूरमा दैलेख जिल्ला अदालतले सोमबार दुई जनालाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट नारायण नगरपालिका–११ बिन्ध्यवासिनीका २८ वर्षीय तुलबहादुर सिंह र नारायण नगरपालिका–७ बिजौराका २२ वर्षीय भूपेन्द्र बुढालाई २५ वर्ष काराबास (जन्मकैद) फैसला गरेको हो ।

नारायण नगरपालिका–११ बिन्ध्यवासिनीका ५२ वर्षीय गगनबहादुर बिकलाई अघिल्लो वर्ष फागुन २२ गते ढुंगा, लाठीले हिर्काइ हत्या गरेको पुष्टि भएको भन्दै कसूरदार दुबै जनालाई जन्मकैदको अलवा पीडित परिवारवाई एक लाख क्षतिपूर्ति तिर्नुपर्ने र पीडित राहत कोषमा २८ सय रुपैंयाँ जम्मा गर्नुपर्ने फैसला भएको अदालतका निमित्त कार्यालय प्रमुख तहसिलदार अधिकृत विकासविक्रम सिंहले जानकारी दिए ।

छिमेकमा विवाहको निम्तोमा जान लागेका गगनबहादुर माथि ०७९ फागुन २२ गते साँझ ७ बजेतिरको समयमा सुरुमा लछारपछार गरी ढुंगा, लाठी समेतले टाउको, छाति र ढाडमा प्रहार गरेको कारण कडा चोट लागेर अत्याधिक रगते बगेको गम्भीर घाइते भएको अवस्थामा दैलेख अस्पतालमा उपचार चलिरहँदा त्यही राति करिब ११ बजे ज्यान गएको थियो ।

कसूरदारहरुलाई हिरासतमा राखी घटनाको सम्वन्धमा प्रहरीले गरेको अनुसन्धान आधारमा जिल्ला सरकारी वकील कार्यालयले चैत १८ गते दैलेख जिल्ला अदालतमा मनसायपूर्वक ज्यान लिएको भन्दै कर्तव्य ज्यान अभियोग दर्ता गराएको थियो । चैत २० गते भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले आरोपित दुवै जनालाई पुर्पक्षका लागि दैलेख कारागार पठाएको थियो