शान्तिपूर्ण ढङ्गले प्रदर्शन गर्न एमालेको निर्देशन
काठमाडौं : नेकपा एमालेले राष्ट्रिय युवा सङ्घलाई बिहीबार शान्तिपूर्ण ढङ्गले प्रदर्शन गर्न निर्देशन दिएको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बुधबार बसेको बैठकले सो निर्देशन दिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनवर्गीय सङ्गठन राष्ट्रिय युवा सङ्घले गर्ने विरोध प्रदर्शन भव्य र सभ्य ढङ्गले तीनकुनेमा उपस्थित भएर शालीनतापूर्वक सम्पन्न गर्न एमालेले जिम्मेवारी लिएको बताए । उनले राज्यले निषेधित घोषणा गरेको क्षेत्र तोड्न लाग्ने छैनौँ भन्ने पूर्व अडान नै हो, यो पहिले नै सार्वजनिक गरेका छौँ । त्यस्तो गतिविधिलाई पार्टीले कडा कारबाही गर्छ ।
यसैगरी, उनले आजको बैठकले मङ्सिर १४ गतेदेखि सुरु हुने पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रीय अभियानको विस्तृत कार्ययोजना पास गरेको जानकारी दिए । उनले भने मङ्सिर १४ गते तीन हप्तासम्म पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित समृद्धिका लागि सङ्कल्प यात्रा लिने निर्णय गरेको छ । यो महत्त्वपूर्ण निर्णय हो । सो दिन बिहान ८ः३० बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झण्डोत्तोलन गरेर पदयात्रा सुरु हुने उनको भनाइ छ ।