Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

कृषि वैज्ञानिकको पहिलो सम्मेलन चितवनमा हुदै


चितवन  :   स्वदेश तथा विदेशका कृषि वैज्ञानिकहरुको पहिलो सम्मेलन चितवनमा हुने भएको छ । पहिलो स्नातक कार्यशाला (फस्ट ग्राजुएट कन्फ्रेन्स) यही मङ्सिर ७ गतेदेखि ९ गतेसम्म हुन लागेको हो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयले पहिलोपटक यस किसिमको सम्मेलन यहाँ गर्न लागेको जनाएको छ । कार्यक्रम संयोजक एवं अनुसन्धान निर्देशक डा ऋषिराम कट्टेलका अनुसार सम्मेलनको उद्घाटन सत्रमा प्रधानमन्त्री, वनमन्त्री, कृषिमन्त्री, शिक्षामन्त्री, बागमती प्रदेशका मुख्यमन्त्री, अन्य विश्वविद्यालयका उपकुलपतिलगायतको उपस्थिति रहने छ । साथै कृषि विश्वविद्यालयका पूर्वउपकुलपति, रजिष्ट्रार र पदाधिकारीहरुको पनि उपस्थिति रहने उनले जानकारी दिए ।

यसैगरी एसियाली विकास बैंक, विश्व खाद्य सङ्गठन, कृषि अनुसन्धान परिषद्, विश्वविद्यालय अनुदान आयोग, कृषि, वन र शिक्षासँग सम्बन्धित अनुसन्धानमूलक संस्थाहरुसहित विभिन्न दातृ निकायका प्रतिनिधिहरु सम्मेलनमा सहभागी हुने कट्टेलले बताए । उनका अनुसार शिक्षा तथा अनुसन्धानद्वारा कृषिमा रुपान्तरण गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो ।

 

सम्मेलनमा विभिन्न विषयमा समूहगत छलफल, विद्यार्थी, प्राध्यापक तथा नीति निर्माताहरुद्वारा कृषि, वन, पशुपालन, भेटेरिनरी र मत्स्यसँग सम्बन्धित अनुसन्धान र त्यसको नतिजासम्बन्धी कार्यपत्र प्रस्तुत गरिने छ । साथै जलवायु परिवर्तन र त्यसको वैज्ञानिक व्यवस्थापनसम्बन्धी विशेष कार्यपत्रहरु प्रस्तुत गरिने छ ।

कार्यक्रममा जापान, ताइवान, नेदरल्यान्ड र भारतका १० वैज्ञानिकसहित तीन सय भन्दा बढीको सहभागिता रहने कार्यक्रम संयोजक कट्टेलले जानकारी दिए । विदेशी र स्वदेशी वैज्ञानिकहरुको प्रस्तुतीकरण रहने जनाइएको छ ।