राउटे महामुखियाको निधन
दैलेख : राउटे समुदायका पूर्व मुखिया(महामुखिया)महिन बहादुर शाहीको निधन भएको छ । दैलेखको भैरवी गाउँपालिका–३ छामघाटमा आइतबार बिहान उनको निधन भएको हो । सोसेक नेपाल द्वारा सञ्चालित राउटे परियोजनाका जोडी शिक्षक लाल बहादुर खत्रीले पाँच महिना ढाड दुख्ने बिरामीका कारण थला परेका उनको बिहान मृत्यु भएको जानकारी दिए । उनले बिहान तीन बजे तिर मृत्यु भएको राउटे समुदायले आफ्नो परम्परा अनुसार मृतक शाहीको अन्तिम दाहसंस्कार गरिसकेको बताए ।
गुराँस गाउँपालिकाले प्रदान गरेको परिचयपत्रमा उनको जन्म मिति २०१४ भदौ ९ गते रहेको उल्लेख छ । महामुखिया शाहीकी पत्नी दुनी शाही र दुई बुहारीहरू सुरमान र सुन्दरी शाही रहेका छन् । महामुखिया शाहीका छोरा नारायण शाहीको केही समयअघि आगोमा जलेर निधन भएको थियो । नारायणको काठमाडौँमा उपचारको क्रममा निधन भएको हो । त्यसअघि उनका अर्का छोरा शिवराज शाहीको पनि लडेर निधन भएको थियो । । भैरवी गाउँपालिका –३ कै कोइराला गाउँमा बसेका राउटेहरू छ दिन अघि मात्र छामघाटमा सरेका थिए । राउटे समुदायमा माहामुखीया भनेको पूर्व मुखियालाई भन्ने गरिन्छ ।