Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

बजेट र जनशक्ति अभावले नयाँ सहरको काम प्रभावित

कमल शर्मा
दैलेख  :   पर्याप्त बजेट, जनशक्ति र जग्गा व्यवस्थापन समयमै नहुँदा राकमकर्णाली नयाँशहर आयोजनाको काम प्रभावित बनेको छ । आयोजना सुरु भएको करिब १२ वर्ष पूरा भए पनि सरकार बाट पर्याप्त बजेट र जनशक्ति अभावले बिनियोजन भएको बजेट समेत कार्यान्वयन हुन नसक्दा आयोजनाको काम प्रभावित बनेको हो । एक लाख जनसङ्ख्या बसोबास गराउन आवश्यक सम्पूर्ण पूर्वाधारसहित योजनाबद्ध सहरीकरण गरी सडक,शिक्षा,खानेपानी तथा ढल व्यवस्थापन,सकारी भवन,बसर्पाक हाट बजार र मनोरञ्जनका लागी पार्कहरू निर्माण गर्न सरकाले योजना अघि सारेको थियो ।

२०६८ साल देखी कार्यालय स्थापना भई काम सुरु गरिएको भए पनि जग्गाको विवाद देखी बजेट र जनशक्ति अभावका कारण आयोजनाले गति लिन नसकेको बताइएको छ । राकम कर्णाली नयाँ सहर आयोजनाका इन्जिनियर प्रवेशराज लामिछानेले सरकारले नयाँ सहर आयोजनाका लागी न्यून बजेट विनियोजन गर्ने र त्यसको कार्यान्वयनका लागी जनशक्तिको अभाव भएका कारण आयोजनाले गति लिन नसकेको बताए । उनले सरकारले पठाउने बजेट न्यून भएका कारण ठुला ठेक्का लगाउने कार्य समेत गर्न नसकिएको बताए । उनका अनुसार नयाँ सहर आयोजना सुरु भए देखी सडक सोलार बत्ती जडान , मसानघाटमा प्रतीक्षालय, पाँच वटा खानेपानी योजना, तीन सय पाँच मिटर सडक कालोपत्रे, कच्ची सडक,यात्रु प्रतीक्षालय मात्र निर्माण भएका छन् ।

नयाँ सहर आयोजना सुरु २०१५ मा सुरु भएको र २०३५ सम्म निर्माण सम्पन्न गर्नु पर्ने र त्यसका लागी २० वर्षमा २० अर्ब रुपियाँ खर्च गर्नु पर्ने भए पनि आयोजना सुरु भएको एक दशक भन्दा बढी हुँदा २७ करोड मात्र खर्च भएको इन्जिनियर लामिछानेले बताए । गत आर्थिक वर्ष २०७९÷८० मा नयाँ सहरको परियोजना निर्माणका लागि १८ करोड पुँजीगत बजेट विनियोजन भएकोमा यो आर्थिक वर्षमा १३ करोड पुँजीगत बजेट छुट्याइएको छ । बजेट अभावकै कारण एकै पटक निर्माण गर्नु पर्ने नयाँ सहर आयोजनाको भवन समेत तीन वर्ष लगाएर निर्माण गर्नु पर्ने बाध्यतामा आयोजना रहेको छ ।

आयोजनामा डिईको दरबन्दी भए पनि सरुवा भएर आउन नमान्ने र सुरुवा भएर आएका डिईहरु पनि कार्यालयमा नबस्ने समस्याले आयोजनाले गति लिन नसकेको उनको भनाई छ । उनले अघिल्लो आर्थिक वर्ष देखी हाकिम नपठाएका कारण सुर्खेत बाट हेर्न गरी डिई तोकिएका कारण कुनै फाइल स्वीकृत गर्दा वा तलब खादा समेत सुर्खेत जानु पर्ने बाध्यता रहेको बताए । नयाँ सहर आयोजनाका लागी जग्गा एकीकरण प्रक्रियाको अन्तिम चरणमा रहेको र बाँकी रहेको जग्गा स्थानीयलाई बुझाउने तयारी समेत गरेको आयोजनाले जनाएको छ ।

आठबिस नगरपालिकाका नगर प्रमुख तर्क बहादुर बडूवालले सरकारको द्धुय नीतिका कारण आयोजना निर्माणले गति लिन नसकेको बताए । उनले जग्गाको मुआब्जा दिने निर्णय कार्यान्वयन हुन नपाउँदै मुआब्जा नदिने भन्ने निर्णयले समेत काम गर्न कठिनाइ भएको बताए । आयोजनाले काम गरिरहेको भए पनि देखिने गरी ठुला आयोजनाको काम सुरु भएको छैन । स–साना कामहरू केही सुरु भएका छन् भने केही सम्पन्न भएको नगर प्रमुख बडूवालको भनाईछ ।