दैलेख–सुर्खेत सडक खण्ड पुर्न निर्माण गरिँदै
कमल शर्मादैलेख : गत असोजमा आएको सात दिनको लगातार अविरल बर्षातले भत्काइएको दैलेख–सुर्खेत सडक खण्डको पुर्न निर्माण कार्य तीव्र पारिएको छ । दैलेख–सुर्खेत सडक खण्डको ६७ किलोमिटर सडक मध्ये दैलेख सदरमुकाम देखी घोडा बास सम्मका विभिन्न स्थानमा भासिएको सडकको पुनर्निर्माण कार्य तीव्र पारिएको हो । सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर सुरेन्द्र कुमार सिंहले गत वर्ष भासिएको सडक निर्माणका लागी दुई वटा ठेक्का खोली निर्माण कार्य सुरु गरिएको जानकारी दिए । उनले घोडा बास देखी माथिल्लो डुगेश्वर र माथिल्लो डुगेश्वर देखी दैलेख बजार सम्म ठेक्का लगाएर काम तीव्र रूपमा भइरहेको जानकारी दिए ।
घोडाबास देखी माथिल्लो डुगेश्वर सडक पुनर्निर्माणका लागी पाँच करोडमा ठेक्का भएकोमा बिपी–बिएपी जेभिले चार करोड १५ लाखमा २०८० जेठ ८ गते सम्झौता भएको र माथिल्लो डुगेश्वर देखी दैलेख बजार सम्मको सडक पुनर्निर्माणका लागी दुई करोडमा ठेक्का भएकोमा एक करोड १३ लामा २०८० वैशाख २० गते सम्झौता भएको इन्जिनियर सिंहले जानकारी दिए । उनका अनुसार घोडाबास देखी माथिल्लो डुगेश्वर सम्म सडक पुनर्निर्माणको काम ६० प्रतिशत सम्पन्न भएको र माथिल्लो डुगेश्वर देखी दैलेख बजार सम्म सडक पुनर्निर्माणका कामको प्रगति ५० प्रतिशत पुगेको छ ।
३३ वर्ष अघि निर्माण गरिएको दैलेख सडक खण्ड एक लेनको भएको र साँघुरो मोड भएका कारण दुर्घटना समेत बढ्ने गरेकोमा सडक डिभिजन कार्यालय सुर्खेतले भासिएको सडक पुर्न निर्माण सँगै साँघुरा भएका मोडहरूलाई समेत फराकिलो बनाउँदै गएको छ । इन्जिनियर सिंहले सडकका मोडलाई फराकिलो बनाउने भन्दा भासिएको स्थानमा सडक मर्मत गर्दा अनिवार्य रूपमा दुई लेनको बनाउने योजना अनुसार काम भइरहेको जानकारी दिए । उनले भने बजेट ढिला आएका कारण ठेक्का पनि ढिलो लागेको हो दसैँ सम्म सडकको पुनर्निर्माणका काम सक्ने गरी निर्माण व्यवसायीलाई तोकेता समेत गरेका छौँ ।
नारायण नगरपालिका–१ का राम बहादुर थापाले सुर्खेत सडक खण्ड पुनर्निर्माण सँगै मोडहरू फराकिलो बनाउने कामले यात्रुहरूलाई सहज हुने बताए । उनले साँघुरो सडक र मोडहरू सानो हुँदा दुर्घटनाको जोखिम रहेको भए पनि मोडहरूलाई फराकिलो बनाउने कार्य राम्रो भएको प्रतिक्रिया दिए ।