Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

नेपाल क्रिकेट संघको अध्यक्षमा चन्द निर्विरोध निर्वाचित


काठमाडौँ  :   नेपाल क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । शनिबार संघको अध्यक्ष पदमा भएको निर्वाचनमा चन्द निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्ष पदमा चन्दको मात्रै उम्मेदवारी परेको थियो । क्यानको अध्यक्षमा चन्द पुनः दोहोरिएका हुन् । संघको उपाध्यक्षमा हालका कोषाध्यक्ष रोशन सिंह निर्विरोध चयन भएका छन् ।
यसैगरी कोषाध्यक्ष पदमा पदम खड्का निर्विरोध भएका छन् । सो पदमा उनको मात्रै उम्मेदवारी परेको छ । त्यस्तै महिला सदस्यमा जयन्ती खड्का निर्विरोध निर्वाचित भएकी छन् ।
निर्विरोध अध्यक्षमा चयन भएसँगै अध्यक्ष चन्दले आफ्नो यो कार्यकालको तीन महिना भित्र नै घरेलु संरचनालाई नयाँ किसिमले बदल्नुपर्ने आवश्यकता रहेको बताए । उनले भारत र पाकिस्तान जस्तै नेपाली टोलीलाई पनि त्यो स्तरसम्म पुर्याउनुपर्ने चुनौती रहेको बताए । चन्दले सरकारले भौतिक संरचनामा ध्यान दिएर अघि बढ्न आवश्यक बताए ।

‘पहिलो तीन महिना भित्रै आन्तरिक स्ट्रक्चरलाई हामीले प्लानसहित अघि बढ्नेछौँ । भारत र पाकिस्तानसँग खेल्यौँ अब नेपाललाई पनि त्यस्तै टिम बनाउने आधारशिला खडा गर्नु छ’ चन्दले भने, ‘त्यसका लागि घरेलु संरचनालाई नयाँ किसिमले बदल्नु छ, र सरकारले भौतिक संरचनामा ध्यान दिएर अघि बढ्न जरुरी छ ।’