शिक्षासम्बन्धी विधेयकप्रति शिक्षक महासंघको आपत्ति
काठमाडौँ : नेपाल शिक्षक महासंघले सदनमा दर्ता भएको शिक्षासम्बन्धी विधेयकप्रति आपत्ति जनाउदै आन्दोलनको घोषणा गरेको छ । महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संसदमा दर्ता भएको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० शिक्षकहरूको हकहितविपरीत भएको भन्दै सडक आन्दोलनको घोषणा गरेको हो ।
महासंघले आगामी असोज ३ गतेबाट देशभरीका विद्यालय बन्द गरी काठमाडौं केन्द्रित आन्दोलन गर्ने जनाएको छ । विधेयकले अस्थायी प्रकृतिका शिक्षकहरुको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षकहरुको सवालमा ध्यान दिन नसकेको महासंघको आरोप छ । त्यस्तै अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कनलगायतका विषयमा समेत विधेयकले कुनै सम्बोधन गर्न नसकेको महासंघकी अध्यक्ष महासंघकी अध्यक्ष कमला तुलाधारले जानकारी दिइन् ।
उनले शिक्षकको नियुक्ति, सरुवा, बढुवामा स्थानीय तहलाई भूमिका दिदा मनोमानी हुने र शिक्षकमाथि ज्यादती हुने तर्क गरिन् । शिक्षकको नियुक्ति, सरुवा, बढुवा लगाएतको भूमिका जिल्ला शिक्षा कार्यालयलाई दिनुपर्ने र केहि भूमिका प्रदेश तहमार्फत राखिनुपर्ने उनको माग छ ।