Loading... आजः बिहिबार, कार्तिक २२, २०८१
Trending

२६ लाख नगदसहित कर अधिकृत पक्राउ

बाँके  :   बाँके प्रहरीले नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित एक सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ । पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा ठूलो मात्रामा नगद फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डाँगीले बताए । नेपालगञ्ज विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीको टोलीले सापकोटालाई आज बिहान नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार सापकोटा बिहान ८ ः ४५ बजेको श्री एयरको उडानमार्फत काठमाडौं जाँदै थिए । सापकोटासँगै अर्का एक जना व्यक्ति पनि रहेका थिए । उनी भने फरार भएका छन् ।

आन्तरिक राजश्व कार्यालय तुलसीपुरका प्रमुख टीकाराज चौलागाईंका अनुसार कर अधिकृतद्वय सापकोटा र दीपक पौडेल चार दिनअघि रूकुम पश्चिमको आठबीसकोट क्षेत्रमा अनुगमन गर्नका लागि खटिएका थिए। पहाडी जिल्लाको अनुगमनबाट आइसकेपछि आफूहरूलाई धपेडी भएको भन्दै उनीहरूले घर बिदामा जान अनुरोध गरेका थिए। रूकुम पश्चिम कर्णाली प्रदेशमा पर्ने भए पनि पहिलेदेखि नै आन्तरिक राजश्व कार्यालय तुलसीपुरले त्यो क्षेत्र हेर्दै आएको छ।

अहिले पनि लुम्बिनी प्रदेशका दाङ, रोल्पा, प्युठान, रूकुम पूर्वका साथै कर्णाली प्रदेशका सल्यान र रूकुम पश्चिमलाई कार्य क्षेत्र बनाई आन्तरिक राजश्व कार्यालय तुलसीपुरले काम गर्दै आएको छ। पक्राउ परेका सापकोटालाई थप अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगञ्जमा बुझाइएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका व्यक्तिलाई अख्तियारको जिम्मा लगाइएको हुँदा थप अनुसन्धान उतै बाट हुने प्रहरीले बताएको छ।