Loading... आजः मङ्लबार, कार्तिक २७, २०८१
Trending

पहिलो पटक हुम्ला पुग्यो बस

हुम्ला  :   हुम्ला सदरमुकाम सिमिकोटमा पहिलो पटक बस पुगेको छ । सिमकोटबाट हिल्सा सडकमा सञ्चालन गर्नेगरी लगिएको बसलाई भव्य स्वागत गरिएको छ । हुम्लाका व्यवसायी विजय लामाले पहिलो पटक सिमकोटका लागि लगेका बसलाई नेपाल–चीन सीमाना हिल्सामा स्थानीयले स्वागत गरेका हुन् ।

राष्ट्रिय सडक सञ्जाल नजोडिँदा व्यवसायी लामाले रसुवाको केरुङबाट तिब्बतको बाटोहुँदै बस सोमबार नेपाल–चीन सीमा नाका हिल्सा पु¥याएका छन् । चीनको बाटोमा नेपाली नम्बर प्लेटका गाडीहरु गुडाउन नमिल्ने भएकाले चिनियाँ ट्रकमा लोड गरेर पठाएका दुबै बस एक दिन ढिलोगरी नेपालीभूमी हिल्सामा पुगेको सञ्चालक लामाले जानकारी दिए ।

पहिलो पटक बस हिल्सा पुगेपछि स्थानीयले लामा संस्कारअनुसार मदिरा र खादाले भव्य स्वागत गरेका छन् । कुनै नयाँ कार्य गर्दा लामा समुदायमा यसरी स्वागत गरेर उत्साह मनाउने प्रचलन छ । एउटा बस त आइतरबार नै हिल्सा पुगेको थियो तर अर्को बस लोड गरिएको ट्रक चीनको ताक्लाकोटमा साँझ परेपछि त्यहीँ रोकिँदा भोलिपल्ट अर्थात् सोमबार मात्रै हिल्सा पुगेको हो ।
व्यवसायी लामाकाअनुसार आफू काठमाडौं रहेकाले बुधबार हुम्ला जाने र हिल्सा पुगेपछि बस सेवा सञ्चालन गर्ने तयारी छ । बस चलाउने एक जना चालक हिल्सा पुगिसकेका छन् भने अर्का चालक नेपालगञ्जमै रहेकाले आफैसँग लिएर रक्षाबन्धन लगत्तै सिमकोट–हिल्सा–सिमकोट सडकमा बस सञ्चालन गरिने लामाको भनाई छ ।

सिमकोट–हिल्सा सडक यसअघि नै सञ्चालनमा आइसकेको सडकको हो । यो सडकमा हाल बोलेरो जीपहरु सञ्चालनमा छन् । जीपहरुले सिमकोट–हिल्सा जाने प्रति यात्रुहरुबाट पाँच हजार भाडा लिने गरेका छन् । हुम्लामा डिजेल अहिले पनि हवाई जहाजबाट ढुवानी गर्नुपर्ने बाध्यता रहेकाले भाडा समायोजनमा सबै पक्षसँग छलफल गरेर कायम गर्ने योजना रहेको लामा बताउँछन् । सिमकोट–हिल्सा सडकको दुरी करिव ९० किलोमिटर रहेको छ । बस सञ्चालन भएपछि सिमकोटबाट हिल्सा तथा नाम्खा गाउँपालिकाका वडा नम्बर १ देखि ५ नम्बर वडाका नागरिकहरु प्रत्यक्ष लाभान्वित हुनेछन् ।