Loading... आजः मङ्लबार, कार्तिक २०, २०८१
Trending

छानो चुहिएपछि छाता ओढेर पढ्दै


दैलेख :  विद्यालयको छानो चुहिने भएपछि विद्याथीहरुले छाता ओढेर पढ्न बाध्य भएका छन । दैलेखको नौमुले गाउँपालिका–६ सल्लेरीको शिवशक्ति माध्यमिक विद्यालयका बालबालिका छाता ओढेर पढ्न बाध्य भएका हुन । विद्यालय भवन चुहिने भएपछि छाता र रेनकोट लिएर विद्यालयमा जानु पर्ने बाध्यतामा रहेका छन् ।
शिवशक्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक मान बहादुर रावतले विद्यालयको पाँच कोठे भवन चुहिने भएका कारण विद्यार्थीहरूले छाता ओढेर पढ्न बाध्य भएको बताउनुभयो । उहाँले गरिबी निवारण कोषको १९ लाख लागतमा २०६७ सालमा  निर्माण गरिएको भवन चुहिने भएपछि बालबालिकालाई पढ्न समस्या हुने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो विद्यालय भवन चुहिएर बालबालिकालाई पढ्न समस्या भएको गाउँपालिका र प्रदेश सरकारलाई भनेको भए पनि पालिका, प्रदेश सरकारले वास्ता नगरेको कारण बालबालिकालाई छाता ओढेर भए पनि नियमित अध्यापन गराई रहेका छौँ । पहाडी जिल्लाको अग्लो भूभाग भएका कारण  पानी कति खेर पर्छ थाहा नै हुँदैन । कहिले दुई कक्षालाई गाभेर पढाउनु पर्ने अवस्था छ त्यसो गर्दा बालबालिकाको पढाई समेत प्रभावित हुने गरेको उहाँको भनाई छ ।

नौमुले गाउँपालिकाका अध्यक्ष छवि सुबेदीले विद्यालय विद्यालय भवन निर्माण भएको धेरै नभएको भए पनि कसरी चुहिने भयो भन्ने अनुसन्धानको विषय हुने बताउनुभयो ।  उहाँले पालिकाको आन्तरिक आम्दानी नहुने,सङ्घीय सरकार बाट स्थानीय तहमा आउने राष्ट्रपति शैक्षिक सुधारका कार्यक्रम समेत नआएका कारण विद्यालय भवन तत्काल बनाउन नसकिने बताउनुभयो । उहाँले भन्नुभयो तत्काल भवन भन्दा पनि भवनलाई कसरी मर्मत सम्भारका लागी पहल गर्ने बताउनुभयो । विद्यालयमा कम्प्युटर जडान गरिएका, खेलकुदका सामाग्री दिइएको भए पनि त्यसको समेत विद्यालय प्रयोग नभएको आफूलाई खबर आएको अध्यक्ष सुबेदीको भनाइछ ।