Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

नेताहरूमाथि अनुसन्धान गर्न केन्द्रीय सदस्यहरूले माग


काठमाडौँ  :  नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकमा विभिन्न भ्रष्टाचार र सुन तस्करी प्रकरणमा नाम मुछिएका पार्टीका नेताहरूमाथि अनुसन्धान गर्न केन्द्रीय सदस्यहरूले माग गरेका छन् ।

केन्द्रीय कमिटी बैठक चौथो दिनसम्म आइपुग्दा बैठकमा बोल्ने सदस्यहरूले विभिन्न भ्रष्टाचार तथा सुन तस्करी प्रकरणमा नाम जोडिएका पार्टीका नेताहरूमाथि अनुसन्धान गरि दोषी देखिए कारबाही गर्न माग गरेका हुन् । पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम भेपमा सुन तस्करी प्रकरणमा जोडिएको भन्दै नेताहरूले महराप्रति पनि छानबिन हुनुपर्ने बताएका छन् ।

पार्टी भित्रका नेताहरूमा सुशासन कायम गराउन नसकेमा बाहिर पनि गराउन नसकिने भन्दै नेताहरूले पार्टीभित्रैबाट सुशासनप्रति प्रतिबद्ध हुनुपर्नेमा जोड दिएका हुन् । बैठक स्थलमा कुराकानी गर्दै केन्द्रीय सदस्य माधव सापकोटाले बैठकमा सुशासनको सम्बन्धमा गम्भीर छलफल भइरहेको बताए । उनले नेताहरूको जीवनशैली, कार्यशैली र आम्दानीका स्रोतहरूमाथि पनि प्रश्न उठेको जिकिर गरे ।

पार्टी उपाध्यक्ष महराको सम्बन्धमा मिडियामा आउने बित्तिकै पक्राउ गर्ने कानुनी व्यवस्था नभएको भन्दै उनले अनुसन्धानको दायरामा ल्याउनुपर्नेगरी कुनै उजुरी नआएको बताए । यद्यपि कोही नेताहरूको संलग्नता यस्तो प्रकरणमा संलग्न भएको देखिएमा कारबाही गर्ने प्रधानमन्त्रीले बचन दिएकोले सो बचनमा विश्वास गर्नुपर्ने बताए ।​