बिशेषज्ञको अभावमा प्रयोगमा आएन भेन्टिलेटर
दैलेख : जिल्ला अस्पताल दैलेखमा जडान गरिएको भेन्टिलेटर बिशेषज्ञ चिकित्सकको अभावमा प्रयोगमा आउन सकेको छैन । कोरोना सङ्क्रमणको दर तीव्र गतिमा फैलिएका बेला दैलेख अस्पतालमै जटिलपछि जटिल खालको उपचार जिल्लामै हुने आशामा रहेका यहाँका नागरिकले अहिले पनि जटिल खाले उपचार गर्न बाहिरी जिल्ला जानुपर्ने बाध्यतामा रहेका छन । दैलेखमा लाखौँ खर्चेर ल्याइएको आइसियु र भेन्टिलेटर दक्ष जनशक्तिको अभावमा देखाउँदै चार वर्षदेखि थन्क्याइए पछि नागरिकहरु सेवा पाउन कठिनाई भएको छ ।
तत्कालीन जिल्ला अस्पताल दैलेखका प्रमुख डा.निरञ्जन पन्तका पालामा २०७७ बैखामा भेन्टिलेटर र आइसियु खरिद गरिएको थियो । उनले सञ्चालन रहेको बताउँदै आएको बताएपनि चार वर्ष अघि सञ्चालनमा आएको भनिएको आइसियु र भेन्टिलेटर कक्ष अहिलेसम्म प्रयोगमा नआई थन्किएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखमा निमित्त स्वास्थ्य व्यवस्थापकका रूपमा कार्यरत डाक्टर धर्मराज रेग्मीले दैलेखमा भेन्टिलेटर कक्ष सञ्चालनमा आएको आफूलाई जानकारी नभएको बताए । उनले अहिले प्राप्त भएको जनशक्तिले भेन्टिलेटर सञ्चालनमा ल्याउन नसक्ने बताए ।
स्वास्थ्य सेवा कार्यालय दैलेखमा सात जना विशेषज्ञ डाक्टरको दरबन्दी खाली रहेको छ भने दरबन्दी अनुसार एक जना पनि विशेषज्ञ डाक्टर छैनन् । अस्पतालमा हाल २६ जना कर्मचारीको दरबन्दी रिक्त छ । अस्पतालमा ६१ जना कर्मचारीको दरबन्दी रहे पनि अहिलेसम्म ३५ जना कर्मचारी पदपूर्ति मात्र रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । स्वास्थ सेवा कार्यालय दैलेखमा हाल कार्यरत रहेका नौ जना मेडिकल अधिकृत (डाक्टर) मध्ये दुई जना मात्र स्थायी रहेको जनाइएको छ । अन्य ७ जना मेडिकल अधिकृत (डाक्टर) छात्रवृत्ति करार र दरबन्दी करारमा कार्यरत रहेका निमित्त स्वास्थ्य व्यवस्थापन रेग्मीले बताए । संघिय सरकार हुँदा बजेट प्राप्त पनि हुने र नागरिकलाई सेवा दिन सहज भएको भएपनि प्रदेश सरकार मार्फत आएपछि बजेट अभाव भए संगै अस्पतालले दिने सेवामा कमी आएको बताइएको छ । स्वास्थ्य सेवा कार्यालयका नायव सुब्बा प्रेम बहादुर बिष्टले कर्णाली प्रदेश सरकार बाट बजेट कटौती गरेपछि कम स्वास्थ्यकर्मी,पानी,विद्युतको महसुल तिर्न समेत समस्या भएको जानकारी दिनुभयो ।