रुकुमपूर्वमा पनि देखियो डेङ्गु संक्रमण
रुकुम : रुकुमपूर्वमा पनि डेङ्गु पोजेटिभ देखिएको छ । मोरङ घर भई हाल व्यापारको सिलसिलामा रुकुमपुर्वमा आएका ५१ वर्षीय तिलकबहादुर राईलाई डेङ्गु पोजेटिभ देखाएको जिल्ला अस्पतालले जनाएको छ । राई चार दिनअघि मात्रै काठमाडौँबाट रुकुमपूर्वमा आएका थियो । उनी बिरामी भएर जाँचका लागि मङ्गलबार अस्पताल पुगेका थिए । डेङ्गुसँग लक्षण मिल्दोजुल्दो देखिएपछि शङ्का लागेर परीक्षण गर्दा डेङ्गु पोजेटिभ देखाएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जितेन्द्रराज कोइरालाले जानकारी दिए । उनका अनुसार राईमा ज्वरो आउने र घाँटीमा सुन्निएको जस्तो देखिने समस्या देखिएको थियो ।
पछिल्लो समय डेङ्गु बढ्दो क्रममा रहेकाले अस्पतालमा उपचारका लागि आउनेमध्ये लक्षण देखिएका शङ्कास्पद बिरामीमा परीक्षण गर्ने गरिएको डा कोइरालाले बताए । सोही क्रममा राईको परीक्षण गर्दा जिल्लामै पहिलो पटक एक जनामा डेङ्गु पोजेटिभ देखिएको उनको भनाइ थियो ।