Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

जाजरकोट– जुम्ला सुरुङमार्ग निर्माणका लागि अध्ययन सुरु


जाजरकोट  :  जाजरकोटको कुशे गाउँपालिका–८ साङटादेखि जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारी जोड्ने सुरुङमार्ग निर्माणका लागि अध्ययन सुरु भएको छ । पहिलो चरणको अध्ययनको जिम्मेवारी आईटेको टीएमएस रे जेभीले पाएको छ । निर्माण कम्पनी आईटेको टीएमएस रे जेभीका प्रमुख राजीव झाले पहिलो चरण काम पूरा भएपछि डिपिआरका लागि दोस्रो चरुणको काम सुरु हुने बताए ।
हाल जाजरकोट सदरमुकाम पाँचकाटिया हुँदै हानिसल्ला काइल्दापाखा सिल्पाचौर हुँदै बारेकोट जुम्ला जोड्ने सडक निर्माण जारी छ । जाजरकोट र जुम्ला जोड्ने सबैभन्दा छोटो बाटो सुरुङमार्ग नै हुने भएको यसमा जोड दिइएको पूर्वमन्त्री गणेशप्रसाद सिंहले बताए ।

साङटाबाट इमिल्चाघारीसम्म अहिलेको लम्बाइ झन्डै १० किलोमिटर छ । सुरुङका लागि करिब पाँच किलोमिटरभन्दा कम प्वाल बनाउनुपर्ने पूर्वमन्त्री सिंहले बताए । हिँडेर झन्डै सात घण्टामा अग्लो डाँडा पार गर्न सकिन्छ भने सुरुङमार्गबाट ३० मिनेटमै जुम्ला जान सकिने उनको भनाइ छ । दाङ हुँदै जाजरकोट जुम्लाबाट रारा जोड्नका लागि यो सडक सबैभन्दा छोटो हुने भएकाले काम सुरु गर्न लागिएको छ ।

अहिले जाजरकोट सदरमुकामबाट बारेकोट–४ को दहसम्म सडकको कच्ची कटान पूरा भएको छ । हलुका सवारी साधनसमेत सञ्चालन भइरहेका छन् । सदरमुकाम खलङ्गाबाट पाँचकाटिया हुँदै सुरुङमार्ग निर्माणस्थलसम्म सडक निर्माण जारी छ । जुम्ला र जाजरकोटसँगै जोडिए पनि अग्ला हिमालहरु पार गर्नुपर्दा धेरै समय खर्चिनुपर्ने अवस्था छ । हिमाली क्षेत्रमा सडक निर्माण गर्दा त्यहाँको पर्यावरणीय सुन्दरता गुम्ने खतरा भएकाले सुरुङमार्ग निर्माणका लागि पहल थालिएको सिंहले बताए ।साभार रातोपाटी