Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

शान्ति सुरक्षाका लागि नागरिक सहयोग आवश्यक : शर्मा

दैलेख :  प्रतिनिधिसभाका पूर्वसाँसद रबिन्द्रराज शर्माले शान्ति, सुरक्षा र अमनचैनका लागि नागरिकहरुले पनि आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउनुभएको छ । सुरक्षित कर्णाली प्रदेशको घरदैलो स्टीकर अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालय दैलेखले जिल्ला सदरमुकाममा आयोजना गरेको नारायण नगर स्तरीय कार्यक्रमको शुभारम्भ गर्दै उनले सो विचार राखेका हुन
पूर्वसाँसद शर्माले कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरु गरेको सुरक्षित कर्णाली प्रदेशको घरदैलो स्टीकर अभियानले नागरिक र प्रहरीबीच सम्वन्ध प्रभावकारी बनाउने यसले नागरिकहरुको सुरक्षा प्रत्याभूती गराउन मद्दत पुग्ने बताए ।

कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले सुरक्षित कर्णाली प्रदेशको घरदैलो स्टीकर अभियानले लुकेका घटनाहरु उजुरी प्रक्रिया आउने र अपराध नियन्त्रणमा सहयोग पुग्ने बिश्वास व्यक्त गरे । उनले अभियानले प्रहरीले थेग्न नसक्ने गरी सूचना र सिकायतको संख्या बढ्ने औल्याउदै फोनको जवाफदेहिता बढाउन प्रहरीलाई सुझाव दिनए ।

दैलेखका प्रहरी इञ्चार्ज डीएसपी किशोर लम्सालले महिला, बालबालिका र ज्येष्ठ नागरिक माथि हुने हिंसाका घटनामा शून्य सहनशीलताको नीति प्रभावकारी बनाइँदै लिइने बताए । उनले दैलेखमा २८ वटा प्रहरी इकाई मार्फत ५४ हजार घरधुरीमा स्टीकर टाँस्ने र घरघरको बिवरण ल्याउने योजना रहेको बताए ।
कर्णाली प्रदेश प्रहरी कार्यालयले ‘सुरक्षित कर्णाली प्रदेशको घरदैलो स्टीकर अभियान २०८०’ नाम दिई सञ्चालन गरिएको यो कार्यक्रम कर्णाली प्रदेशका १० जिल्लाका तीन लाख ७१ हजार घरधुरीमा पुग्ने बताइएको छ ।

अपराध र विपदको समयमा प्रहरी तथा नागरिकबीच छिटो सूचनामा पहुँच बढाउने, प्राप्त सूचनाका आधारमा अपराध नियन्त्रणमा प्रभावकारिता बढाउने, अपराधी पक्रन र पीडितको न्याय छरितो बनाउन, नागरिकहरुको सुरक्षा प्रत्याभूती बढाउने अभियानको मुख्य उद्देश्य राखिएको छ ।साभार ज्वाला सन्देश