पूर्वी सुर्खेत मेहेलकुना बाटै नागरिकता पाए नागरिकले
सुर्खेत : पूर्वी सुर्खेतका नागरिकहरू नागरिकता लिनका लागि सदरमुकाम वीरेन्द्रनगर आउनुपर्ने झन्झटबाट मुक्त भएका छन् । उनीहरूले अब स्थानीय स्तरबाटै नागरिकता पाउने भएका हुन् । यसअघि वीरेन्द्रनगरस्थित जिल्ला प्रशासन कार्यालयबाट प्रशासनिक सेवा लिइरहेका सिम्ता गाउँपालिका, गुर्भाकोट नगरपालिका, लेकबेसी लिनको नगरपालिका र भेरीगंगा नगरपालिकाका नागरिकले अब मेहेलकुनाबाटै सेवा लिन पाउने छन् ।
सुर्खेतको पूर्वी क्षेत्रमा आजदेखि इलाका प्रशासन कार्यालय सञ्चालनमा आएपछि पूर्वी सुर्खेतका नागरिकहरू हर्षित भएका छन् । गुर्भाकोट नगरपालिका–७ मेहेलकुनामा शनिबार औपचारिक कार्यक्रम आयोजना गरी सेवा प्रारम्भ गरिएको छ । सेवा प्रारम्भ दिनको अवसरमा आज दुई ओटा नागरिकता समेत वितरण गरिएको छ ।
सो अवसरमा स्थानीय रोशनी शर्मा र प्रेरणा शर्माले नागरिकता प्राप्त गरेका छन् । नागरिकता प्राप्त गरेपछि स्थानीय रोशनी शर्माले खुसी व्यक्त गरिन् ।
ाउक्त कार्यालयबाट प्रशासनिक कार्यहरू अन्तर्गत नागरिकता र सिफारिसका कामहरू सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले जानकारी दिए ।
इलाका प्रशासन कार्यालयको नेपाल सरकारका उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री खड्काले प्रशासनिक सेवा प्रारम्भ गर्ने मतदातालाई दिएको प्रतिबद्धता पूरा गरिएको जानकारी दिए । निर्वाचनका बेलामा हुने राजनैतिक प्रतिस्पर्धा एक किसिमको भए पनि जनतालाई सेवा दिने र विकास गर्ने कुरामा सबै दलहरू एकताबद्ध भएर जानुपर्ने बताए ।
उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले स्रोतको सीमितताका कारण चाहे जस्तो बजेट विनियोजन गर्न नसकिएको बताए । उनले आवश्यकता अनुसार आम नागरिकलाई समेट्ने किसिमका योजनाहरू समावेश गरिने घोषणा गरे । रोजगारी सिर्जना गर्न कर्णाली समृद्धि अभियान अन्तर्गत १० हजारलाई रोजगारी दिई स्वरोजगार बनाउने प्रदेश सरकारको योजना रहेको जानकारी दिए ।
आन्तरिक मामिला मन्त्री कृष्णबहादुर जिसीले सरकारप्रति नागरिकको अपेक्षा ठूलो हुनु स्वाभाविक भएको बताउँदै आवश्यकता अनुसार सेवा पहुँच प्राप्त होस् भनी इलाका प्रशासन कार्यालयको सुरुवात भएको जनाए । सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले सबै तहका सरकारको समन्वय र सहकार्यबाट जनताका आवश्यकता परिपूर्ति गर्ने बताए । उनले समय अनुकूल विकास निर्माणका चरणहरू अघि बढ्ने जानकारी दिए ।