Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

छोरी बलात्कारको कसूरमा तेत्तीस वर्ष कैद


दैलेख  :   १७ वर्षीया आफ्नै छोरी बलात्कारको कसूरमा ५० वर्षका एक जनालाई दैलेख जिल्ला अदालतले ३३ वर्ष कैद गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट सोमवार भएको उक्त फैसला भएको सूचना अधिकारी टिकाराम न्यौपानले जानकारी दिए । गएको चैत १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको थियो । उजुरीका आधारमा ती व्यक्तिलाई गिरफ्तारको काम पनि त्यही दिन भएको थियो । बालिकाको स्वास्थ्य परीक्षण समेत चैत २१ गते नै भएको थियो ।

फैसलमा तीन लाख रुपैंयाँ जरिवाना, ५० हजार रुपैंयाँ पीडित बालिकालाई क्षतिपूर्ति र २८ सय रुपैंयाँ पीडित राहत कोषमा पीडकबाट भराउने समेत उल्लेख भएको सूचना अधिकारी न्यौपानले जानकारी दिए । बलात्कार गरेको पुष्टी भएपछि हाडनातामा २५ वर्ष र पीडितको उमेर अनुसार हुने बलात्कार सजाय ८ वर्ष समेत थपेर कसूरदारलाई ३३ वर्ष कैद गरिएको अदालतको फैसलामा उल्लेख छ ।