Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

सुर्खेत रंगशालाको भौतिक प्रगति ६० प्रतिशत


सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर निर्माणाधीन प्रदेश गौरवको आयोजनाको प्रदेश रंगशालाको काम धमाधम अघि बढेको छ । अहिलेसम्म ६० प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ ।
निर्माणाधीन रंगशालाको कार्य तोकिएको समय भित्र सम्पन्न गर्ने गरी तालिका अनुसार नै कार्य प्रगति भएको कर्णाली खेलकुद विकास परिषदले जनाएको छ । उक्त रंगशाला निर्माण कार्यमा हालसम्म ६५ करोड ८५ लाख खर्च भएको छ । कर्णालीका अन्य जिल्लाहरूमा पूर्वाधार निर्माण अन्तर्गत जुम्लाको राजा सिम खेल मैदानमा माटो भरान र लेभलिङ गर्ने कार्यमा ५० लाखमा लागतमा निर्माण कार्य सम्पन्न भएको छ । आगामी वर्षमा प्रदेश खेलकुद अन्तर्गत चालु तर्फ ८ करोड ३२ लाख ७६ हजार र पुँजीगत तर्फ ९१ करोड ८७ लाख गरी जम्मा १ अर्ब १९ लाख ७६ हजार विनियोजन भएको छ ।

आइतबार कर्णाली प्रदेश खेलकुद विकास परिषदको आर्थिक वर्ष २०७९/८० मा भएको कामको प्रगति विवरण सार्वजनिक गर्दै सदस्य सचिव विश्वामित्र सञ्ज्यालले रंगशाला निर्माणको कामले तीव्रता पाएको जनाए । उनले रंगशाला थ्री डी एनिमेसन दर्शक प्याराफिटमा ४ हजार कुर्सी जडानको कार्य सकिएको र भिआइपी तर्फको प्याराफिटमा सिभिल निर्माण कार्य अन्तिम चरणमा रहेको जानकारी दिए ।

यस्तै फिनिसिङ्ग र छाना निर्माणको कार्य बाँकी रहेको सञ्ज्यालले जनाए । उनका अनुसार कबर्ड हलको छाना बाहेक फिनिसिङ्ग कार्य भइरहेको र पौडी पोखरी, व्यावसायिक सटर, गेट निर्माण कार्यको सिभिल स्ट्रकचर कार्य सम्पन्न हुने चरणमा बताए । त्यस्तै, फुटबल मैदानमा दुबो लगाई स्तर वृद्धिको कार्य भइरहेको, एथ्लेटिक्स ट्र्याकको सब बेस र नाली निर्माण कार्य सम्पन्न, रुख रोप्ने, हरियाली गर्ने कार्य भइरहेको सचिव सञ्जालले बताए ।

परिषदका अनुसार प्रदेश रंगशाला निर्माणमा ८५ करोड, हुम्ला हक्की खेल मैदान ५० लाख, कालीकोट कबर्ड हल निर्माण ६० लाख, दसौँ राष्ट्रिय खेलकुद लक्षित विभिन्न खेल मैदान मर्मत सुधार २ करोड, चिसापानी खेल मैदान निर्माण सुर्खेत २४ लाख, मैनतडा खेल पूर्वाधार निर्माण सुर्खेत १८ लाख, चौरहजारी क्रिकेट मैदान निर्माण रुकुम पश्चिम ६० लाख, कालिन्चोक खेल मैदान निर्माण सुर्खेत २५ लाख, जिल्ला स्तरीय खेलकुद मैदान निर्माण २ करोड, कुदु रंगशाला निर्माण जाजरकोट १५ लाख, दसौँ राष्ट्रिय खेलकुद तयारीका लागि ७० लाख, प्रदेश स्तरीय टिम तयारी तथा प्रशिक्षणका लागि जम्मा ४ करोड ७० लाख मुख्यमन्त्री कप जिल्ला र प्रदेश स्तरमा १ करोड १० लाख विनियोजन गरिएको छ ।

आगामी वर्ष २०८१ मंसिरमा कर्णाली प्रदेशमा आयोजना हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगितामा २ अंकको स्वर्ण पदकसहित उत्कृष्ट खेल प्रदर्शनीका लागि कर्णाली प्रदेश खेलकुद विकास परिषदको १३ औं बोर्ड बैठकले कर्णाली प्रदेशका खेलहरूलाई क, ख र ग श्रेणीमा वर्गीकरण गरी प्रशिक्षण र प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ ।