Loading... आजः शनिबार, साउन १२, २०८१
Trending

वेश्यावृति गराएको कसुरमा १७ वर्ष कैद


दैलेख  :  होटेलमा काम गर्न राखेकी महिलालाई बेश्वाबृति गराएको कसुरमा जिल्ला अदालत दैलेखले होटेल सञ्चालक महिलालाई १७ वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले बुधवार मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार वेश्यावृत्ति गराएको कसुरमा १० वर्ष र अर्को ठाउँबाट ल्याई वेश्यावृत्तिमा प्रयोग गराएको थप सात वर्ष समेत १७ वर्ष कैद फैसला गरेको अदालतका सूचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिए । उनले २७ वर्षीय महिलालाई मानव बेचबिखन गरेको आरोपमा अछामको पञ्चदेवलबिनायक नगरपालिका–९ भान कोट घर भई हाल दैलेखको आठबीस नगरपालिका–६ खिड्कीजिउलामा होटेल व्यवसाय गर्दै आएकी ३० वर्षीय शोभा रोका मगर(बोहोरा)लाई १७ वर्ष कैद फैसला भएको जानकारी दिए ।
होटेलमा सरसफाइ र खाना पकाउने कामका लागि भनी राखिएकी ती महिलालाई होटेल सञ्चालक शोभाले कात्तिक ४ गते नौ जनासँग यौन सम्बन्ध राख्न लगाएको भनी पीडित महिलाले दिएको जाहेरीको आरोपमा प्रहरीले ०७८ कात्तिक १२ गते पक्राउ गरेको थियो । प्रहरी अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले ०७८ मङ्सिर ७ गते दैलेख जिल्ला अदालतमा अभियोग दर्ता गराएको थियो । अभियोग सम्बन्धमा भोलिपल्ट मङ्सिर ८ गते भएको थुनछेक बहसपछि तत्तकालिन जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासबाट आरोपितलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश अनुसार जिल्ला कारागारमा राखिएको थियो । झापा जिल्ला घर भएकी ती महिलालाई त्यो होटेलमा काम गर्न राखेर वेश्यावृत्तिमा प्रयोग गराएको भन्ने प्रहरी अनुसन्धान र अदालती तहकिकातबाट खुलेको र सोही अनुसार फैसला भएको अदालतका सूचना अधिकारी न्यौपानेले जानकारी दिए ।