हतियारधारी समूहद्वारा गुम्बामा लुटपाट
डोल्पा : हिमाली जिल्ला डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकामा हातहतियारधारी समूहहरु प्रवेश गरेर गुम्बाहरूमा रहेका मूर्ति लगायतका पुरातात्त्विक सम्पदाहरू लुटेका छन् । ती बन्दुकधारीहरू सो गाउँपालिकाको वडा नं –४ मा रहको देछेन लाब्राङ गुम्बा र ३ नम्बरमा रहेको शे–चखाङ गुम्बामा रातको समयमा प्रवेश गरी लुटपाट मच्चाएका हुन् । अन्य ठुला गुम्बाहरूमा पनि उनीहरूले लुटपाट मच्चाउने र पुरातात्त्विक सामाग्रीहरू कब्जा गर्ने आशङ्का स्थानीयले गरेका छन् । साथै गाउँमा बन्दुकधारी समूह प्रवेश गरेपछि स्थानीयबासीमा त्रास पैदा भएको छ ।
डोल्पाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद धनबहादुर बुढाले घटनाबारे संसद्मा जानकारी गराएपछि मात्रै घटनाप्रति सबैको ध्यान गएको छ । सो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङका अनुसार जेठ ८ गते राती ११ बजे देछेन लाब्राङ गुम्बामा उनीहरूले लुटपाट मच्चाएका हुन् । स्थानीयको भनाइ उदृत गर्दै उनले भने, पहिलो दिन ६–७ जनाको समूह थियो भने दोस्रो दिन अर्थात् ९ गते राती १० बजे १६–१७ जनाको समूहले शे–चखाङ गुम्बामा लुटपाट मच्चाएका थिए । उनका अनुसार दुईवटा गुम्बामध्ये शे–चखाङ गुम्बा सार्वजनिक गुम्बा हो भने देछेन लाब्राङ गुम्बा व्यक्तिगत गुम्बा हो ।
समूहमा रहेका सबै जनासँग बन्दुक लगायत हातहतियारहरू रहेको बताइएको छ । मान्छेहरू अपरिचित तर नेपाली नै रहेको स्थानीयले जानकारी गराएको अध्यक्ष गुरुङले रातोपाटीलाई जानकारी गराए ।