नेपाल फिलिपिन्ससँग १–० गोलले पराजित
काठमाडौँ : नेपाल फिलिपिन्सँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पराजित भएको छ । बिहीबार फिलिपिन्सको रिजल मेमोरियल मैदानमा भएको खेलमा नेपाल घरेलु टोलीसँग १–० गोलले पराजित भएको हो । फिलिपिन्सका लागि खेलको ४९औं मिनेटमा जाभिएर गायोसोले गोल गरेका थिए । खेलमा नेपालले केही राम्रा अवसर पाए पनि गोल गर्न सकेन ।
भारतमा हुने १४औं संस्करणको साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले फिलिपिन्ससँग खेलेको हो । साफ च्याम्पियनसिप भारतको बेङ्गलुरुमा असार ६ देखि १८ गतेसम्म हुनेछ । च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बङ्लादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान र माल्दिभ्स सहभागी हुँदैछन् ।