एमालेले वडा–वडा भावी युवा नेता कार्यक्रम सञ्चालन गर्ने
काठमाडौं : नेकपा एमालेले वडा वडा भावी युवा नेता’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानको क्रममा पार्टी संरचनामा पाका उमेर समूह र युवा उमेर समूहका नेता कार्यकर्ताको संख्यामा असन्तुलन देखिएपछि युवा लक्षित कार्यक्रम सञ्चालन गर्न लागेको हो।
एमालेले देशैभरी–छोराछोरीको नारामा पार्टीका नेता कार्यकर्ताको घरघरबाटै युवा कार्यक्रम सुरु गर्ने र प्रत्येक वडा– कम्तिमा १० युवा कार्यक्रममार्फत् वडा वडा भावी युवा नेता’ कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। अहिलेका युवाहरु आफैं नेता, आफैं प्रधानमन्त्री’ जस्ता न्यारेटिभ्सबाट प्रभावित देखिएकाले सम्भावना भएका युवाहरु पहिचान गरी एमालेले उनीहरुको अपेक्षालाई सम्बोधन गर्ने योजना बनाएको छ।
एमालेका केन्द्रीय सदस्य माधव ढुंगेलले पार्टीमा युवा आकर्षण र युवा सहभागिता विस्तार गर्न नयाँ अभियान थालनी गर्न लागिएको जानकारी दिए। आगामी दिनमा कम्तिमा एक तिहाई सदस्य ३५ वर्ष मुनिका पार्टी सदस्यहरुलाई संगठित गर्ने गरी युवालक्षित अभियान सञ्चालन गर्ने तयारी भएको बताए।
एमालेको केन्द्रीय कमिटी र सचिवालय बैठकपश्चात मिसन ग्रासरुटले पहिचान गरेका सम्भावना भएका युवा वा सम्भावना भएका थप युवा पहिचान गरी नेतृत्व विकासको लागि पार्टी स्कुलका माध्यमबाट विशेष प्रशिक्षण कार्यक्रम (क्लोज क्याम्प) संचालन गर्ने निर्णय समेत गरेको छ।