शैक्षिक सुधारका लागी अभिभावक शिक्षा सिकाउँदै नगरपालिका
दैलेख : विद्यालय प्रशासन,शिक्षक,अभिभावक र विद्यार्थी बिच सुमधुर सम्बन्ध स्थापित गरी शैक्षिक गुणस्तर सुधारका लागी अभिभावक शिक्षालाई प्रभावकारी बनाउँदै लगिएको छ । जिल्लाको नारायण नगरपालिकाले नगरपालिका भित्र रहेका विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागी अभिभावक शिक्षालाई प्रभावकारी बनाउँदै गएको हो ।
नारायण नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख पूर्ण प्रसाद उपाध्यायले शैक्षिक सुधारका लागी गुणस्तरीय सिकाई प्रदान गर्न शिक्षकहरूलाई आवश्यक तालीम र बालबालिकाका अभिभावकलाई अभिभावक शिक्षा प्रदान गरिएको जानकारी दिए । उनले बालबालिकाप्रतिको दायित्व, अभिभावक शिक्षाको महत्त्व, बालबालिकाप्रति सकारात्मक सोच, समस्याको विश्लेषण, प्रभावकारी शिक्षा लगायतका विषयमा बारेमा अभिभावकलाई अभिमुखीकरण गरिएको जानकारी दिए । राष्ट्रिय जनगणना २०७८ ले सार्वजनिक गरिएको मुख्य तथ्याङ्कमा कर्णाली प्रदेशमा पाँच वर्ष वा सो भन्दा बढ उम्मेरका कुल जनसङ्ख्यामा साक्षरता दर ७६.१ प्रतिशत रहेको बताउँदै उनले अभिभावक शिक्षा मार्फत बालबालिकाको भर्ना दर बढाइँदै लैजान अभिभावक शिक्षा प्रभावकारी हुने जानकारी दिए ।
नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले नगरपालिकाको शैक्षिक सुधारका लागी विभिन्न साझेदार संस्था सँग समन्वय गरी काम गरिरहेको जानकारी दिए । उनले सेतो गुराँस बाल विकास सेवा दैलेख मार्फत नगरपालिकाको शैक्षिक सुधारका लागी नेपालमा प्रारम्भिक बाल शिक्षा र विकासको सबलीकरणका लागी प्रारम्भिक सिकाई तथा विकास मापदण्ड कार्यान्वयन परियोजना मार्फत विभिन्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । उनले भने नारायण नगरपालिका ३८ विद्यालयमा शैक्षिक सामाग्री एवम् प्राविधिक सहयोग,नियमित शिक्षण सिकाई,अभिभावक शिक्षा प्रदान गरिरहेका छौँ ।
नारायण नगरपालिका –१० का श्याम बहादुर बोगटीले बालबालिकालाई पढ्नका लागी आवश्यक वातावरण तयार गर्न अभिभावक जिम्मेवारीको महत्त्वपूर्ण रहेको आफूहरूले बल्ल थाहा पाएको जानकारी दिए । उनले हामीले बालबालिकालाई पढ्न प्रेरित गर्ने, विद्यालयमा नियमित गए नगएको जानकारी राख्ने,प्रत्येक महिनाको एक चोटि विद्यालयमा जाने,बालबालिकालाई आवश्यक पर्ने शैक्षिक सामाग्री उपलब्ध गराउने लगायतका जिम्मेवारीका विषयमा आफूहरूले जानकारी पाएको बताए । उनले भने हामीले अहिले सम्म बालबालिकाका समस्या बुझेका नै रहेनछौ अव बुझ्यौ अव त्यसो गदैर्नौँ ।