चार दिने भ्रमणका लागि प्रधानमन्त्री दाहाल भारत प्रस्थान
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’चार दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। उनी केहिबेरअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नयाँदिल्लीका लागि उडेका हुन्। प्रचण्ड नेपाल वायुसेवा निगमको नियमित जहाजबाट नयाँदिल्ली प्रस्थान गरेका विमानस्थल स्रोतले जनाएको छ। भ्रमणमा उनीसहित सरकारी र निजी क्षेत्रका गरी एक सयभन्दा बढी सहभागी छन्।
गत ११ पुसमा तेस्रो पटक मुलुकको प्रधानमन्त्रीमा नियुक्त भएपछि दाहालको यो कार्यकालको यो पहिलो विदेश भ्रमण हो। मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरू पनि सहभागी छन्। सचिवालयमा उक्त टोलीमा भौतिक पूर्वाधारमन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र एनपी साउँद, अर्थ प्रकाशशरण महत र उद्योगमन्त्री रमेश रिजाललगायत छन्।
प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयका साथै डेढ दर्जन सचिव सहभागी छन्। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, लगानी बोर्डका सहसचिव अमृत लम्साल, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानी, परराष्ट्रका भारत हेर्ने सहसचिव रामप्रसाद सुवेदी, चिफ अफ प्रोटोकल सुधीर भट्टराई, प्रधानमन्त्री कार्यालयका सहसचिव नवराज ढुंगाना, उद्योग मन्त्रालयका सहसचिव रामचन्द्र तिवारी, ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवाललाई सूचीमा समावेश छन्।