Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

सरकारले ब्युँतायो सांसद विकास कोष


काठमाडौं  :  सरकारले सांसद विकास कोष ब्युँताएको छ । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेटबाट सांसद विकास कोषको नाममा दिने गरेको बजेट हटाएका थिए । आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले सांसद विकास कोष ब्युँताएको जानकारी दिएका छन् । संसदीय पूर्वाधार विकास कार्यक्रम’ अन्तर्गत प्रतिनिर्वाचन क्षेत्र ५ करोड रुपैयाँ छुट्याइएको जानकारी मन्त्री महतले दिए ।

२ जेठमा कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमै उनले सांसद विकास कोष ब्युँताउने संकेत गरेका थिए । उनले कोष ब्युँताउने सुझाव आएको बताएका थिए । सुशील कोइराला प्रधानमन्त्री भएको बेला पूर्वाधार विकास कोषको अवधारणा सुरु भएको थियो । पछि त्यसको नाम फेरेर सांसद विकास कोष र स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ भन्न थालियो । यस कार्यक्रम अन्तर्गत संघीय संसद निर्वाचन क्षेत्रमा ६ करोड रुपैयाँको दरले बजेट विनियोजन हुने गरेको थियो । तर यो रकम विकासको नाममा कार्यकर्तामा बाँडेर दुरुपयोग हुने गरेको भन्दै आलोचना हुँदै आएको थियो । त्यसैले खारेज भएको सांसद विकास कोषलाई केही सांसदहरुले पुनः ब्युँताउनुपर्ने दबाब दिंदैआएका थिए ।