Loading... आजः मङ्लबार, कार्तिक २०, २०८१
Trending

११ औँ पटकमा बल्ल पायो प्रचण्ड सरकारले पूर्णता


काठमाडौँ  :   सरकारको गठन भएको ५ महिनामा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । पुस १० मा एमाले, रास्वपा, राप्रपासहितका दलको समर्थनमा प्रधानमन्त्री भएका प्रचण्डलाई राष्ट्रपति निर्वाचनमा समीकरण बदलिएसँगै कांग्रेसले थमौती दियो ।

एमालेले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पुनः विश्वासको मत लिँदा कांग्रेसले समर्थन गर्‍यो । सोहीअनुसार उनले कांग्रेससमेतका दललाई चित्त बुझाएर बल्ल आज मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । एमालेले फागुन १५ गतेसम्म सरकारलाई समर्थन गरेको थियो । त्यो बीचमा प्रचण्डले ४ पटक मन्त्रिपरिषद् विस्तार गरेका थिए । जसअनुसार प्रचण्डले पुस ११ मा सानो आकारको मन्त्रिपरिषद् बनाए । त्यसपछि उनले माघ ३, माघ १४, २३ र फागुन १४ गतेसमेत मन्त्रिपरिषद् विस्तार गरे ।

जसअनुसार प्रचण्डले फागुन १६ गते, चैत १७ गते, वैशाख ३ गते , २१ गते र २४ गते फेरि मन्त्रिपरिषद् विस्तार गरे । मंगलवार फेरि जसपाबाट मन्त्री थप्दै प्रचण्डले २५ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । जसअनुसार प्रचण्डले आज वन तथा वातावरण मन्त्रीमा वीरेन्द्र प्रसाद महतोलाई नियुक्त गरेका छन् । यस्तै शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमिला कुमारी नियुक्त भएकी छन् ।